रामहरि खतिवडालाई लाग्यो निजामती ऐन किर्ते गरेको आरोप
काठमाडौँ – निजामती ऐन किर्ते भएको भन्दै सांसदहरूले सभापति रामहरि खतिवडाको राजीनामाको माग गरेका छन्।
विधेयकमा कुलिङ पिरियड हटाउने शब्द घुसाइएको भन्दै सांसदहरूले सभापतिको नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन्।
विधेयकमा किर्ते गरेर कुलिङ पिरियड हटाउने शब्द घुसाएको भन्दै यसको नैतिक जिम्मेवारी सभापति रामहरिले खतिवडाले लिनुपर्ने सांसदहरूको भनाइ छ ।
नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले यस्तो गम्भीर लापरवाही समिति सभापतिको सहयोगविना नहुने भन्दै राजीनामा दिनुपर्ने बताए ।
‘विधेयकमा गम्भीर लापरबाही भएको छ । यसको छिनोफानो हुनुपर्छ र समिति सभापतिले राजीनामा दिनुपर्छ’, नेता पाण्डेको भनाइ छ । एमाले सांसद पदम गिरीले पनि सभापति खतिवडाको राजीनामा मागिने बताए ।
‘कर्मचारीको मात्र लापरबाही भन्न मिल्दैन यसमा सभापतिको समेत हात हुनसक्छ । त्यसैले उहाँको राजीनामा र छानबिन हुन जरुरी छ’, गिरीको भनाइ छ ।
यसैबिच समिति सभापति खतिवडा सभामुख देवराज घिमिरेलाई भेट्न सभामुखको कार्यकक्षमा गएका छन् । खतिवडा सभामुखसँगको छलफलमा गएपछि राज्य व्यवस्था समितिको बैठकमा सहभागी हुन सिंहदरबारमा पुगेका सांसदहरु सभापतिलाई कुरेर बसेका छन् ।
समितिको बैठक बिहान ८ बजेलाई बोलाइएको थियो । तर कुलिङ पिरियडको विषय आएपछि सांसदहरूले यसको छिनोफानो नभएसम्म बैठक अघि बढ्न नसक्ने बताएका थिए ।