हेटौंडाको मास्टर चोकमा ट्याङ्करले विद्यालयको बसलाई दियो ठक्कर
काठमाडौं—पूर्वपश्चिमराजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–९, मास्टरचोकमा सोमबार बिहानसवारी दुर्घटना भएको छ।
नेपाल आयल निगमको पेट्रोल बोकेको ट्याङ्करले एक विद्यालयको बसलाई ठक्कर दिएको र त्यस पछि उक्त बसले पार्किङ गरिएको निजी सवारी संग ठोक्किँदा दुर्घटना भएको हो।
‘पहिलो पाइला फस्र्ट स्टेप मन्टेश्वरी’विद्यालयको नाममा सञ्चालित पहेँलो रंगको बसमा चारजना सवार थिए, जसमा एकजना मात्रै विद्यार्थी रहेको जनाइएको छ। अन्य तीन जना विद्यालयका कर्मचारी थिए।
दुर्घटनाका कारण स्कूलबसको अगाडिको भाग र पछाडि दुबै गम्भीर रूपमा क्षतिग्रस्त भएको छ। त्यसैगरी, ठोक्किएको निजी सवारी पनि क्षतिग्रस्त भएको देखिन्छ। पेट्रोल ट्याङ्करको अगाडि भागमा पनि क्षति भएको छ।
घटनापछि स्थानीय वासीको भीड लागेको थियो भने इलाका प्रहरी कार्यालय पशुपति नगर टोलीले तत्काल घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ।
दुर्घटनामा गम्भीर मानवीय क्षति भने भएको छैन्। इलाका प्रहरी कार्यालय पशुपति नगरका प्रहरी निरीक्षक विमला कठायतका अनुसार पेट्रोल ट्याङ्करको ब्रेकफेल वा लापरवाहीका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ।