दुर्गा प्रसाईको डिल्लिबजार कारागारबाट भाबुक सन्देश

आइतबार, ११ साउन २०८२

काठमाडौं—दुर्गा प्रसाईले डिल्लिबजार कारागारबाट भाबुक सन्देश पठाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहका जनकमाण्डर प्रसाईँले नाती र छोरीलाई सम्झिदै सचिवालयमार्फत सन्देश पठाएका हुन् । फेसबुकमार्फत सार्वजनिक सन्देशमा भनिएको छ, ‘हरेक नेपालीले आफ्नो सन्तानको साथमा जीवन जिउन पाउन्, प्रत्येक हजुरबुबा–हजुरआमाको काखमा नातीनातिना हुन् भनेर अभियान शुरु गरेको मलाई मेरो नातीले बहुत याद गर्छ रे । परिवारले बाहिर जानुभएको छ, चाँडै आउनुहुन्छ भन्दा मोबाइलमा फोटो हेर्छ रे, एक मनले सोच्छु कारागारमै भए पनि बोलाएर एकछिन नाती खेलाउँ, अनि फेरि सोच्छु, के सम्हालिएला र मनमा, भक्कानो छुट्छ । प्रसाईंले छोरी डाक्टरी पढेर नेपाल फर्कंदा एयरपोर्टमा स्वागत गर्न जान नपाएकोमा पनि दुःखेसो पोखेका छन् । प्रसाईले दुखेसो पोखेपनि ‘एकदिन आकाशको बादल हटेर उज्यालो आउनेछ’ भन्दै शुभचिन्तकहरुलाई नआत्तिन सन्देश पनि दिएका छन् ।

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी हिंसामा ‘आओ आओ’ भन्दै भीड उक्साएर प्रहरीमाथि नै गाडी हुइँक्याउन खोज्ने प्रसाईलाई जेठ ३० गते काठमाडौँ जिल्ला अदालतले पूर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । सोही दिन डिल्लीबजार कारागार चलान भएका उनी त्यहिँबाट मुद्दा पुर्पक्ष गरिरहेका छन् ।

यसैबीच प्रसाईले स्वकीय सचिवमार्फत् एउटा अपील पत्र जारी गर्दै नातीलाई सम्झिएका हुन् । जेलको अनुभव शेयर गर्दै उनले घरपरिवारको प्रसंग झिकेर भावुक भनाइ राखेका छन् ।