अन्ततः रामकुमारी झाँक्रीले घुँडा टेकिन्
काठमाडौँ – उग्र अभिव्यक्तिले विवादमा आइरहने एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले यस पटक घुँडा टेकेकी छन् । आफ्नो अडानमा संधै अडिक रहने झाँक्रीले यो पटक माफी मागेकी छन् । आफ्नै अध्यक्षविरुद्धको गैरराजनीतिक टिप्पणीका कारण विवादमा मुछिएकी झाँक्रीले अन्ततः माफी मागेकी हुन् ।
पार्टीले सोधेको स्पष्टिकरणमा माफी मागेर आगामी दिनमा पार्टी हित विपरितको गतिविधिमा नलाग्ने जवाफ दिएपछि शनिबार बसेको सचिवालय बैठकले माफि दिएको छ । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई पतञ्जली जग्गा प्रकरणमा मुद्दा दायर भएपछि ‘सिनो बोकेर हिँड्न सकिँदैन’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।
उनले आगामी दिनमा पार्टी हितविपरीत अभिव्यक्ति नदिने वाचासहित पत्र पठाएकी थिइन्। आज बसेको सचिवालय बैठकमा झाँक्रीले दिएको लिखित स्पष्टीकरण पत्र पेस गरिएको थियो। ‘रामकुमारीजीले भविष्यमा पार्टी निर्णयको विपक्षमा नबोल्ने भनेर यसअघि बोलेको कुरामा क्षमा मागेपछि उहाँलाई थप कारबाही नगर्ने निर्णय भएको छ,’ एक पदाधिकारीले भने।