पुराना उद्योगपतिको बलमिच्याईंले बालेनलाई समेत तनाव
काठमाडौं – उद्योगपति पियुषबहादुर अमात्यको बलमिच्याईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तनाव थपिएको छ । इन्टरनेशनल स्कूल अफ म्यानेज्मेण्ट एण्ड टेक्नोलोजी (आइएसएमटी)को जग्गा मिचेर घरको पर्खाल बनाएका अमात्यले ठाउँ–ठाउँबाट मुद्धा हार्दासमेत बलमिच्याईं गर्दा बालेनलाई तनाव थपिएको हो ।
त्यही मुद्धाका कारण काठमाडौंका मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबिच सुधारिएको सम्बन्ध पनि चिसिएको छ । महानगरको न्यायिक समितिले जग्गा विवाद सम्बन्धी मुद्दामा मेयर साहको इजलासले गत वैशाख ११ गते पर्खाल भत्काउन आदेश दिएको थियो ।
सोही आदेश अनुसार महानगर प्रहरीले अमात्यको घरसमेत जोडिएको पर्खाल भत्काएको थियो । उक्त आदेश विपरित पर्खाल नभत्काउन गुरागाईंले आफ्नो प्रहरी बललाई अर्को लिखित आदेश दिएपछि सम्बन्धमा पुनः दरार आएको छ ।

महानगरमात्र होइन अमात्यलाई उच्च अदालत पाटनले पनि जग्गा कलेजकै स्वामित्वमा रहेको भन्दै मुद्धा हराइसकेको छ । अमात्यले दर्ता गरेको निषेधाज्ञाको रिट २०८१ साल असोज १५ गते न्यायाधीश श्यामकुमार भट्टराईको इजलासले खारेज गरेको थियो । रिट खारेज भएपछि कलेज महानगरपालिकाको न्यायीक समितिमा गएर पर्खाल भत्काउन माग गर्दै निवेदन दिएको थियो । न्यायीक समितिले पर्खाल भत्काउन आदेश दिएको थियो ।
सोही आदेश अनुसार महानगर प्रहरीले अमात्यको काठमाडौं १०, नयाँ बानेश्वरमा रहेको घर अगाडिको पर्खाल भत्काएको थियो । अमात्य र उनका छिमेकीले पर्खाल भत्काउन आएको महानगरको टोलीमाथि ढुङ्गामुडा गरेपछि डोजरपछि हटेको थियो । यसअघि अमात्य महानगरपालिकाको आदेशविरुद्ध काठमाडौं जिल्ला अदालत गएका थिए । अदालतमा उक्त मुद्धा विचाराधिन रहेको छ ।
काठमाडौं महानगरले पर्खाल भत्काएपछि अमात्य पुनः उच्च अदालत पाटन गएका छन् । दोश्रो पटक निषेधाज्ञाको माग गर्दै उनी उच्च अदालत गएका हुन् । अमात्यले ४२ वर्षअघि वि.सं. २०४० सालमा बनाइएको घर भिरालो जग्गामा रहेकाले सुरक्षाको निम्ति छेउको दुई आना दुई पैसा साढे तीन दाम जग्गा किनेर पर्खाल निर्माण गरेको दावि गरेका छन् । उनले जग्गा किनेको बताएपनि उनीसँग जग्गा किनेको कुनै प्रमाण छैन् ।

बकाइदा लालपुर्जा रहेको उक्त जग्गा आइएसएमटीले किनेको थियो । उक्त जग्गा भोगचलन गर्न नपाएपछि कलेज समस्यामा परेको छ । उद्योगपति अमात्यको काठमाडौंदेखि पोखरासम्म थुप्रै व्यवसाय रहेको छ । यस्ता यस्तै विवाद झिकेर बलमिच्याईं गर्ने वानीले उनी समस्यामा पर्दै आएका छन् । जग्गा विवादकै कारण उनको पोखराको व्यवसाय लगभग डुबेको छ भने बैंकको ऋण तिर्न उनलाई हम्मेहम्मे परेको छ ।
