कोशेली बोकेर ससुराली आएका ज्वाईंलाई ससुराले मारे
कोशेली बोकेर ससुराली आएका ज्वाईंलाई ससुराले मारेका छन् । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ का ६० वर्षीय ससुरा वीरबहादुर तामाङले कोसेली लिएर पुगेका ज्वाइँ प्रेमबहादुर तामाङलाई मुक्का हानेर मारेका हुन् ।
दोलखा जिल्लाका प्रहरी प्रमुख भोला कुमार भट्टका अनुसार ससुरालीका दाजुभाइबीच पारिवारिक विवाद थियो । ज्वाईंले ल्याएको कोशेली पहिला कसको घरमा पुर्याउने भन्ने विषयमा ज्वाईं सुसुराबीच पनि विवाद भएको थियो ।
घटनापछि फरार रहेका वीरबहादुरलाई मंगलबार बिहान करिब ७ः३० बजे सोही वडाको खारपानी भन्ने स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख भोला कुमार भट्टले जानकारी दिए ।
प्रहरीका अनुसार ज्यान मार्ने स्पष्ट नियत नदेखिए पनि घटनामा प्रेमबहादुरको मृत्यु भएको छ । पक्राउ परेका वीरबहादुरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मन्थली ल्याइएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।