बालेनलाई १२ बुँदे सम्झौता सम्झाउँदै दुर्गा प्रसाईं

शुक्रबार, १३ चैत्र २०८२

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउन अभियान संयोजक दुर्गा प्रसाईले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारसँग गरेको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका छन् । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहलाई सफल कार्यकालको शुभकामना दिदै उनले कार्की सरकारले बाँकी राखेका काम तत्काल पुरा गर्न आग्रह गरेका हुन् ।

‘पहिलेका सरकारले अधुरा छोडेका जनताका अपेक्षाहरू तत्काल सम्बोधन गरियोस्’, उनले भनेका छन्, ‘सरकारले हामीसँग गरेका १२ बुँदे सम्झौता कार्यान्वयन होस् ।’

मेडिकल व्यवसायी समेत रहेका प्रसाईले युवाहरुलाई विदेश जानबाट रोक्न तत्काल ठोस योजना बनाउन समेत आग्रह गरेका छन् । ‘युवाले आफ्नै देशमै भविष्य देखून्, विदेशिनुपर्ने बाध्यता होइन, विकल्प बनोस्’, उनले अघि थपेका छन्, ‘गरिबलाई कालोसूचीमा हाल्ने होइन, उठ्ने अवसर दिनुस्, तिर्ने समय दिनुस्, काम गरेर सम्मानपूर्वक बाँच्ने वातावरण बनाइदिनुस्।’

४६ सालपछिका सबै भ्रष्टाचारका काण्ड, नेता र उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति निष्पक्ष छानबिन गर्नुपर्नेमा प्रसाईको जोड छ । राजसंस्था पुनर्स्थापनाका लागि पहल थाल्नुपर्ने बताउँदै उनले सुनाएका छन्, ‘किराँत, बौद्धसहित वैदिक सनातन धर्मको संरक्षण र स्थापना गरियोस्, राजसंस्था पुनःस्थापना गरियोस्, देशको ऐतिहासिक संरचना र पहिचानबारे व्यापक राष्ट्रिय सहमति निर्माण गरियोस्।’