सरकारले पहिचान गर्यो आर्थिक रूपान्तरणका चार क्षेत्र

सोमबार, १४ बैशाख २०८३

काठमाडौँ – सरकारले मुलुकको आर्थिक रूपान्तरणका लागि चारवटा मुख्य संवाहक क्षेत्रहरूको पहिचान गरेको छ। अर्थ मन्त्रालयले श्वेतपत्र (स्थिति पत्र) मार्फत सरकारले यस्ता क्षेत्र पहिचान गरेको हो ।

यी क्षेत्रहरुमा ऊर्जा क्षेत्र, कृषि उद्योग र पर्यटन, पर्यटन र सूचना प्रविधि रहेका छन् । स्वेतपत्रमा सरकारले आगामी ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर पुर्‍याउने र अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर नजिक पुर्‍याई नेपाललाई ससम्मान मध्यम आय भएको मुलुक बनाउने आधार प्रस्तुत गरेको छ ।

सरकारले आगामी ५ वर्षभित्र कुल जडित विद्युत् क्षमता १५ हजार मेगावाट पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय गौरवका आयोजनाहरू दुई वर्षभित्र सम्पन्न गर्ने र रणनीतिक महत्त्वका नयाँ आयोजनाहरू सुरु गरी निजी लगानीलाई समेत आकर्षित गरेर आर्थिक वृद्धिमा तीव्रता ल्याइने जनाइएको छ ।

कृषि, उद्योग र पर्यटनको अन्तरआबद्धता

कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै यसलाई उद्योग र पर्यटन क्षेत्रसँग जोड्ने सरकारको योजना छ। यसबाट उत्पादनमूलक रोजगारी अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

गुणस्तरीय पर्यटन पूर्वाधार

पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधारको विकास गर्ने, पर्यटकीय सेवामा सुधार ल्याउने र आवागमनमा सहजता प्रदान गरी रोजगारी र आय बढाउने लक्ष्य राखिएको छ।

सूचना प्रविधि र डिजिटल अर्थतन्त्र

कृत्रिम बौद्धिकता सहितको सूचना तथा प्रविधिको उपयोग गर्ने र डिजिटल अर्थतन्त्र निर्माणमार्फत उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात बढाउने क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ।