ज्ञानेन्द्र शाहीको प्रश्न : सरकार हो कि आतंकवादी ?

मंगलबार, २९ बैशाख २०८३

काठमाडौं — प्रतिनिधिसभा सांसद एवं राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई आतंकवादीको संज्ञा दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै यस्तो बताएका हुन् ।

उनले भने “सत्ता भनेको अस्थायी हो । अव्यवस्थित बस्ती जोगाउनु पर्छ भन्ने मेरो पनि मान्यता होइन । हटाउनुपर्छ तर यो सरकार हो कि आतंकवादी ?”

उनले गरिबको ओत भत्किँदा सरकारलाई किन पीडा महसुस नभएको भनी प्रश्न गरे । वाग्मती किनारमा १० दिनको महिलाको ओत भत्किँदा सरकारलाई किन पीडा महसुस भएन ?,” उनले प्रश्न गरे, “एउटा नाबालकले नेपालको झण्डा बोकेर आँखाभरि आँशु झार्दै आफ्नो किताबसम्म निकाल्न नपाउँदा त्यो बालकको मनमा राज्यप्रति कस्तो छाप बस्यो होला ?”

मानवीय समवेदनामाथि डोजर चलाएर विकास नहुने उनको भनाइ छ । “सत्ता र शक्तिको आडमा कसैलाई जोगाइँदैन भन्ने आज सत्तापक्षका मात्र हैन मन्त्रिपरिषद्का सदस्यसम्म हुकुमवासी भएको प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन् । आज त्यसमाथि डोजर किन चलाइएन ?” उनको प्रश्न थियो ।

सुकुम्वासी बस्तीमा डोजर चलाउँदै गर्दा नागरिकको ज्यान गएको भन्दै उनले उनीहरूको ज्यानको रक्षा गर्नु राज्यको कर्तव्य हो कि हैन भनेर प्रश्न गरे ।