रास्वपा उपनेताको अभिव्यक्तिमा बारको आपत्ति, सभामुखसँग रुलिङ माग
काठमाडौं — रास्वपाका उपनेता गणेश पराजुलीले संसदमा कामु प्रधानन्यायाधीशको विषयलाई लिएर गरेको टिप्पणीप्रति नेपाल बार एशोसिएसनले आपत्ति जनाएको छ।
बारले संसद्मा न्यायाधीश र न्यायालयको कार्यसम्पादनमा असर पर्ने गरी हुने यस्ता टिप्पणी रोक्न सभामुखको ध्यानाकर्षण गराएको छ ।
हिजो प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले ‘कामु प्रधानन्यायाधीशले सडकबाट दुई तिहाइ सरकारलाई ललकारेको’ भनी दिएको अभिव्यक्तिप्रति बारले असन्तुष्टि व्यक्त गरेको हो । सभामुखलाई पत्र लेख्दै बारले उक्त सम्बोधनले ‘दुई तिहाइ सरकारउपर कसैले केही बोल्न नपाइने’ भन्ने गलत र निरंकूश सन्देश दिन खोजेको जिकिर गरेको छ ।
पत्रमा भनिएको छ, ‘सांसद पराजुलीको अभिव्यक्ति स्पष्टतः निरंकुशताको बीजारोपण र प्रवर्द्धन हो । दुई तिहाइका नाममा न्यायपालिकाको स्वतन्त्रतामाथि प्रहार हुनु लोकतन्त्रका लागि घातक छ ।’
बारले नेपालको संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दा र न्यायाधीशले आफ्नो कर्तव्य पालनाको सिलसिलामा गरेको कार्यको सम्बन्धमा संसद्मा कुनै छलफल गर्न बन्देज लगाएको लगाएको स्मरण गराएको छ ।
आगामी दिनमा न्यायालय र न्यायाधीशको कार्यसम्पादनमा प्रतिकूल असर पर्ने गरी संसद्मा कुनै पनि टीकाटिप्पणी हुन नदिने प्रबन्ध मिलाउन र सोहीबमोजिम ‘रुलिङ’ गर्न सभामुखसँग माग गरेको छ ।