चार कारणसहित हर्क साम्पाङले मागे विज्ञप्ति नै जारी गरेर प्रधानमन्त्रीको राजीनामा

शुक्रबार, १ जेष्ठ २०८३

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजीनामा माग गरेका छन् ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद साम्पाङले प्रधानमन्त्रीले संसद्‌को अपमान गरेको र संसदीय परम्पराको बेवास्ता गरेको भन्दै राजीनामा मागेका हुन् ।

प्रधानमन्त्री बालेनमाथि संसदीय अभ्यासको इतिहासमा कालो धब्बा लगाएको र जनताको सार्वभौम सदनलाई बेवास्ता गरेको आरोप उनले लगाएका छन् ।

त्यसका लागि उनले चार वटा कारण प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रमको समयमा अनुपस्थिति रहेको, छलफलमा सहभागी नभएको र संसदीय मर्यादा र स्थितिलाई कायम राख्न नसकेको तथा जनतालाई सम्बोधन नगरेर लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको साम्पाङको आरोप छ ।

आफ्नो धरातल बिर्सेर जनताका प्रश्नहरूको उत्तर दिन नसक्ने, लुकेर बस्ने प्रवृत्तिले कस्तो नजिर बसाउँछ ? विज्ञप्तिमा साम्पाङले भनेका छन्, कर्तव्य पूरा नगर्दा अधिकार प्राप्त नहुने हुँदा न्यूनतम कर्तव्य समेत पूरा नगरेको कारण नैतिकताको आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लोकतन्त्र सम्मानित हुने देखिन्छ ।