सरकारका प्रवक्ता भन्छन् : प्रधानमन्त्रीको तत्काल विदेश भ्रमणको योजना छैन

सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं — सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को अहिलेको मुख्य प्राथमिकता सरकारको कार्यसम्पादनमा केन्द्रित हुनु रहेको बताएका छन् ।

सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्रवक्ता पोखरेलले सरकारको पहिलो १०० दिनको कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाएको उनको भनाइ छ ।

ूप्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न । हामी अहिले सरकारको सुरुआती १०० दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित छौँ, उनले भने, सभापतिज्यूको भ्रमण नितान्त निजी वा पार्टीगत हुन सक्छ, यसमा प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध छैन ।

बजेट निर्माणको तयारीका विषयमा मन्त्री पोखरेलले अर्थ मन्त्रालयले बजेटको कामलाई तीव्रता दिएको बताए । अधिकांश मन्त्रालयहरूले आ–आफ्नो योजना र कार्यक्रमहरू प्रस्तुत गरिसकेका उनको भनाइ छ । बजेट निर्माण प्रक्रिया व्यवस्थित ढंगले अघि बढिरहेको उनले बताए ।

सिंहदरबार प्रवेशमा कडाइ गरिएको भन्ने जिज्ञासामा मन्त्री पोखरेलले यसलाई ‘व्यवस्थित गर्ने प्रक्रिया’को रूपमा व्याख्या गरे ।

सिंहदरबारभित्रको आवतजावतलाई थप व्यवस्थित र सहजीकरण गर्नका लागि कार्यविधि बनाइएको हो, उनले भने, कुन गेटबाट कति बजे कसरी प्रवेश गर्ने भन्ने विषयलाई सर्वसाधारण र कर्मचारी सबैका लागि सहज बनाउन खोजिएको हो ।

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीको सम्बोधन हुने वा नहुने भन्ने प्रश्नमा उनले यसबारे मन्त्रिपरिषद्‌मा कुनै विशेष छलफल नभएको जानकारी दिए । यद्यपि, प्रधानमन्त्रीले आवश्यकता र उपयुक्तताका आधारमा उचित समयमा सम्बोधन गर्ने उनको भनाइ थियो ।