ईश्वरी भुजेल मृत्यु प्रकरणमा ‘नेपाली ब्रो’ सहित चार जना पक्राउ, अनुसन्धानका लागि पाँच दिन म्याद थप
काठमाडौं— ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु प्रकरणमा प्रहरीले उनका श्रीमान् ‘नेपाली ब्रो’ का नामले चिनिने कुमार थापासहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ परेकामाथि अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ।
काठमाडौंको तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा शुक्रबार राति भएको घरायसी विवादका क्रममा थापाले श्रीमती भुजेलमाथि फलामको रड प्रहार गरेको आरोप प्रहरीले लगाएको छ। गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक भुजेल नेपाली सेनामा कार्यरत थिइन्।
प्रहरीले घटनासम्बन्धी जाहेरीका आधारमा थप तीन जनालाई पनि नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का ३६ वर्षीय विक्रम थापा मगर, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने ४० वर्षीय पुजन थापा क्षेत्री तथा जुम्लाको हिमा गाउँपालिकाकी २५ वर्षीया प्रतिक्षा आचार्य रहेका छन्।
उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। कुमार थापाले सामाजिक सञ्जालमा आफूलाई ‘नेपाली ब्रो’ तथा प्रो–रेसलरका रूपमा परिचित गराउँदै आएका थिए।