करका दर हेरफेरमा लुकाइएको समाचार बाहिरियो
जेठ १५ गते बजेट भाषणको छेको पारेर चीनबाट भन्सारमा सेटिङ मिलाई नेपाल भित्र्याइएका साढे ८ सय थान विद्युतीय गाडीबारे थालिएको अनुसन्धान सकिएको छ । अनुसन्धान समितिले तयार पारेको रिपोर्ट आज अर्थ मन्त्रालयलाई बुझाइने सम्भावना छ ।
रिपोर्टबारे हिजो एकसरो मन्त्रालयका अधिकारीहरुलाई समितिको तर्फबाट जानकारी गराइएको बताइन्छ । भन्सार विभागका महानिर्देशक श्याम भण्डारीको नेतृत्वमा बनाइएको टोलीमा अर्थ मन्त्रालयका प्रतिनिधि,सशस्त्र तथा नेपाल प्रहरीका अधिकारीहरु छन् ।
बजेट भाषणअघि भन्सारमा कागजात पास गराएर जेठ १५ गतेपछि नेपाल भित्र्याइएका गाडीमध्ये अधिकांश रसुवागढी नाकाबाट ल्याइएकामा कैफियत देखिएको बताइन्छ । स्रोत भन्छ, ‘रसुवाबाट ल्याइएका काइयीका ४० भन्दा बढी गाडीमा त्यो सेटिङ देखियो । कोरोलामा सबै गाडी १३ गते नै भन्सारको यार्डमा आएको सिसिटिभीमा देखिन्छ ।’
रसुवागढी नाकाबाट ल्याइएका कैफियतयुक्त गाडीहरु सबै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको हो । यसै प्रकरणमा रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराई र टिमलाई तानेर छानबिन अगाडि बढाइएको थियो ।
भन्सार विभाग स्रोत भन्छ, ‘रसुवामा अञ्जन श्रेष्ठको कम्पनीले ल्याएका काइयी ब्राण्डका गाडी १५ गतेअघि कागजात पास गरेपछि भित्र्याइएको पाइयो ।’ आज बुझाइने प्रतिवेदनमा दुबै नाकाको सिसिटिभी फुटेज र फोटो पनि राखिने छ ।
बजेटअघि राजश्वको दरसम्बन्धी सूचना चुहाएर हतार हतार नेपाल भित्र्याएको आशंकामा आठ सय बढी गाडी अनुसन्धानको घेरामा परेका थिए ।
अधिकांश बिवाइडी ब्राण्डका ती गाडी साइमेक्स इंकका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष अन्जनकुमार श्रेष्ठको कम्पनीले मगाएको छ दर्जनमध्ये काइयी ब्राण्डका चार दर्जन थिए ।
भन्सारमा गम्भीर खेल भएको सुइँको पाएपछि सशस्त्र प्रहरी बलले मुस्ताङको कोरला नाकाबाट ल्याइएका ७७४ थान बिवाईडी गाडीलाई पोखरा नजिकै नियन्त्रणमा लिएको थियो । यता रसुवागढीबाट कागजी रुपमा १४ गते नै गाडी नेपाल भित्र्याएको २ थान गाडी गल्छीमा समातियो । सोही नाकाबाट त्यसैगरी भित्र्याइएका काइयी ब्राण्डका चार दर्जन बढी गाडीबारे बिस्तृत समाचार बाहिर ल्याइएन ।
अञ्जन हुण्डाई,बिएमडब्लु र काइयी ब्राण्ड कम्पनीका गाडी व्यापारी हुन् । बिएमडब्लु जर्मनीबाट र काइ ब्राण्डका गाडी चीनबाट ल्याउने गरिएको छ । हुण्डाइ भारतबाट ल्याइन्छ ।