गगनले रास्वपाको प्रथम महाधिवेशनमा दिन खोजेको सन्देश
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन केवल एउटा दलको संगठनात्मक उत्सव मात्र थिएन, यो नेपालको समकालीन राजनीतिमा वैकल्पिक शक्तिको परीक्षण, संस्थागत विकास र भविष्यको दिशाबारेको बहसको महत्वपूर्ण अवसर पनि थियो। यस्तै ऐतिहासिक क्षणमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको उद्घाटन समारोहमा उपस्थित हुने निर्णयले महाधिवेशनलाई थप राजनीतिक महत्व प्रदान गर्यो।
उपस्थित हुने वा नहुने विषयमा अनेक अड्कलबाजी चलिरहेकै बेला गगन थापाको उपस्थितिले एउटा स्पष्ट सन्देश दियो—लोकतन्त्रमा राजनीतिक प्रतिस्पर्धा हुन सक्छ, तर संवाद, सम्मान र लोकतान्त्रिक सहअस्तित्वको संस्कृति हराउन हुँदैन। यही कारणले उनको उपस्थितिलाई लिएर सामाजिक सञ्जालमा व्यापक बहस भयो। महाधिवेशन स्थलमा उनको आगमनसँगै रास्वपा कार्यकर्ताहरूले तालीको गड्गडाहट, उत्साहपूर्ण नाराबाजी र चर्को प्रतिक्रियामार्फत स्वागत गरेका थिए। त्यो दृश्यले गगन थापा आज पनि नेपाली राजनीतिका सर्वाधिक चर्चित र प्रभावशाली नेतामध्ये एक भएको पुष्टि गरिरहेको थियो।
पहिलो सन्देश: वैकल्पिक शक्तिको उदय लोकतन्त्रको उपलब्धि हो
गगन थापाले आफ्नो सम्बोधनमा रास्वपाको महाधिवेशनलाई शुभकामना दिँदै नयाँ राजनीतिक शक्तिको उदयलाई लोकतन्त्रको स्वाभाविक परिणामका रूपमा व्याख्या गरे। यस सन्देशको गहिरो अर्थ के हो भने लोकतन्त्रमा नयाँ विचार, नयाँ नेतृत्व र नयाँ राजनीतिक शक्तिहरू जन्मिनु व्यवस्थाको कमजोरी होइन, बरु सफलताको सूचक हो।
यसबाट उनले रास्वपालाई स्वीकार्यता मात्र दिएनन्, बरु लोकतान्त्रिक प्रतिस्पर्धालाई स्वस्थ बनाउने पक्षमा आफू रहेको संकेत पनि दिए। पुराना दलहरूले नयाँ शक्तिलाई अस्वीकार गर्ने होइन, प्रतिस्पर्धामार्फत आफूलाई सुधार्दै जाने संस्कार आवश्यक रहेको उनको संकेत थियो।
दोस्रो सन्देशः रास्वपाको उदय शून्यबाट भएको होइन
गगन थापाको सम्बोधनको सबैभन्दा महत्वपूर्ण पक्ष नेपाली कांग्रेसको ऐतिहासिक भूमिकाको स्मरण थियो। उनले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो तथ्य स्थापित गर्न खोजे कि आज रास्वपा जस्ता नयाँ दलहरू खुला रूपमा संगठन विस्तार गर्न, महाधिवेशन गर्न र जनमतको प्रतिस्पर्धामा उत्रिन पाएका छन् भने त्यसका पछाडि दशकौँ लामो लोकतान्त्रिक संघर्षको इतिहास छ।
राणा शासनविरुद्धको आन्दोलन, पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०४६ सालको जनआन्दोलन, २०६२—६३ को लोकतान्त्रिक आन्दोलन तथा संविधान निर्माण प्रक्रियामा नेपाली कांग्रेसले खेलेको भूमिकालाई उनले स्मरण गराएका थिए। यसको सन्देश स्पष्ट थियो—नयाँ पुस्ताले परिवर्तनको दाबी गर्न सक्छ, तर विगतका उपलब्धि, बलिदान र लोकतान्त्रिक यात्रालाई अस्वीकार गरेर होइन।
यो सन्देश विशेषगरी पुराना सबै खराब र नयाँ सबै असल भन्ने सरलीकृत राजनीतिक भाष्यप्रति लक्षित देखिन्थ्यो। गगनले इतिहास र वर्तमानबीचको सम्बन्धलाई जोड्दै लोकतान्त्रिक निरन्तरताको महत्वलाई उजागर गरेका थिए।
तेस्रो सन्देशः लोकप्रियताभन्दा संस्थागत विकास महत्वपूर्ण
गगन थापाले महाधिवेशनको महत्वमाथि विशेष जोड दिएका थिए। कुनै पनि राजनीतिक दल केवल चुनावी सफलताले परिपक्व हुँदैन, उसको आन्तरिक लोकतन्त्र, संगठनात्मक संरचना, नीति निर्माण क्षमता र नेतृत्व चयनको प्रक्रियाले उसको वास्तविक चरित्र निर्धारण गर्छ।
रास्वपाले छोटो समयमै उल्लेखनीय जनसमर्थन प्राप्त गरेको छ। तर त्यो समर्थनलाई दीर्घकालीन राजनीतिक शक्तिमा रूपान्तरण गर्न नियमित महाधिवेशन, विचार निर्माण, नेतृत्व विकास र संगठन विस्तार अपरिहार्य हुन्छ। गगनको सन्देशलाई यही दिशामा दिइएको मित्रवत राजनीतिक सुझावका रूपमा पनि बुझ्न सकिन्छ।
चौथो सन्देशः विरोधी होइन, लोकतान्त्रिक प्रतिस्पर्धी
उनको उपस्थितिले अर्को महत्वपूर्ण सन्देश दियो—राजनीतिमा फरक विचार भएका दलहरू शत्रु होइनन्, प्रतिस्पर्धी हुन्। नेपालमा पछिल्ला वर्षहरूमा राजनीतिक ध्रुवीकरण बढ्दै जाँदा विरोधी दलप्रति असहिष्णुता पनि बढेको देखिन्छ। यस्ता बेला प्रतिस्पर्धी दलको महाधिवेशनमा सहभागी हुनु आफैंमा लोकतान्त्रिक संस्कृतिको अभ्यास हो।
गगन थापाले सम्भवतः यही देखाउन खोजे कि लोकतन्त्रको सुन्दरता प्रतिद्वन्द्वीलाई सम्मान गर्न सक्नुमा पनि निहित हुन्छ। यसले राजनीतिक संवादको संस्कृतिलाई बल पुर्याउँछ।
पाँचौँ सन्देशः शुभकामना मात्र होइन, जिम्मेवारीको स्मरण
उनको शुभकामना केवल औपचारिक बधाई थिएन। त्यसमा शुभेच्छासँगै एउटा गम्भीर राजनीतिक सन्देश पनि निहित थियो। जनताको आशा जगाउन सजिलो हुन्छ, तर त्यसलाई परिणाममा रूपान्तरण गर्न कठिन हुन्छ।
रास्वपा अहिले परिवर्तनको अपेक्षा बोकेको शक्तिका रूपमा स्थापित भएको छ। त्यसैले गगनको सन्देशलाई ूजनताको विश्वास जोगाउनुस्, संगठनलाई बलियो बनाउनुहोस्, लोकतान्त्रिक मूल्यमा अडिग रहनुस् र परिणाममुखी राजनीति गर्नुस्ू भन्ने आग्रहका रूपमा पनि बुझ्न सकिन्छ।
ताली, नाराबाजी र उत्साहपूर्ण प्रतिक्रियाको राजनीतिक अर्थ
महाधिवेशन हलमा सुनिएको ताली, नाराबाजी र उत्साहपूर्ण प्रतिक्रियाले गगन थापाप्रति रास्वपा कार्यकर्ताहरूको विशेष चासो, जिज्ञासा र राजनीतिक आकर्षण प्रतिबिम्बित गरिरहेको थियो। राजनीतिक रूपमा फरक दलका नेता भए पनि गगन थापालाई नेपालको नयाँ पुस्ताले ध्यानपूर्वक नियालिरहेको छ भन्ने सन्देश त्यसबाट स्पष्ट देखिन्थ्यो।
त्यहाँ व्यक्त भएका प्रतिक्रियाहरूलाई अस्वीकार वा विरोधका रूपमा मात्र बुझ्न सकिँदैन। बरु ती प्रतिक्रियाहरूले नेपालको वर्तमान राजनीतिमा गगन थापा एक महत्वपूर्ण राजनीतिक पात्र भएको, उनका विचार र भूमिकाबारे आम कार्यकर्ता तथा युवापुस्तामा विशेष रुचि रहेको तथ्यलाई उजागर गरेका थिए। महाधिवेशनको माहोलले प्रतिस्पर्धी राजनीतिक शक्तिहरूबीच पनि संवाद, बहस र पारस्परिक सम्मानको सम्भावना जीवित रहेको संकेत गरेको थियो।
निष्कर्ष
रास्वपाको प्रथम महाधिवेशनमा गगन थापाको उपस्थितिलाई केवल एउटा औपचारिक राजनीतिक कार्यक्रमका रूपमा हेर्नु पर्याप्त हुँदैन। त्यो उपस्थितिले अनेक तहका राजनीतिक सन्देश बोकेको थियो। उनले नयाँ राजनीतिक शक्तिको उदयलाई सम्मान गरे, तर लोकतान्त्रिक संघर्षको इतिहासलाई नबिर्सन आग्रह पनि गरे। उनले प्रतिस्पर्धाको आवश्यकता स्वीकारे, तर संवाद र सहकार्यको संस्कृतिको पक्षसमेत लिए। उनले रास्वपालाई शुभकामना दिए, तर संस्थागत विकास, जिम्मेवारी र राजनीतिक परिपक्वताको महत्व पनि स्मरण गराए।
यस अर्थमा गगन थापाको सम्बोधन र उपस्थिति रास्वपाको महाधिवेशनका लागि मात्र नभई नेपालको लोकतान्त्रिक राजनीतिक संस्कृतिका लागि पनि एउटा महत्वपूर्ण राजनीतिक सन्देशका रूपमा सम्झिइनेछ। नवराज बराल