गल्ती स्वीकार्नु हार होइन, परिपक्वताको संकेत हो
मानिसको जीवनमा सबैभन्दा कठिन शब्दहरू मध्ये एक हो, “म गलत थिएँ।” यो केवल चार अक्षरको स्वीकारोक्ति होइन यो आफ्नै अहंकारसँगको संघर्ष हो। इगो सधैं आफूलाई सही देख्न चाहन्छ । उसलाई सत्यभन्दा पनि आफ्नो छवि प्रिय हुन्छ। त्यसैले जब गल्ती हुन्छ, इगोले सत्य स्वीकार्नुभन्दा बहाना खोज्छ, दोष अरूमाथि थोपर्छ, परिस्थिति दोषी ठहराउँछ, तर आफ्नै कमजोरीलाई स्वीकार्न तयार हुँदैन।
इगोको एउटा अनौठो स्वभाव छ। उसले गल्तीलाई गल्तीका रूपमा होइन, हारका रूपमा हेर्छ। त्यसैले ‘म गलत थिएँ’ भन्नु उसलाई पराजय जस्तो लाग्छ। तर वास्तविकता ठीक उल्टो हुन्छ । गल्ती स्वीकार्नु हार होइन, परिपक्वताको संकेत हो । आफ्नो कमजोरी देख्न सक्ने मानिस नै वास्तवमा बलियो हुन्छ। किनकि सत्य स्वीकार्न साहस चाहिन्छ, जबकि बहाना बनाउन कुनै साहस आवश्यक पर्दैन।
धेरै सम्बन्धहरू विचारको भिन्नताले होइन, इगोका कारण टुट्छन्। कहिलेकाहीँ एक साधारण “माफ गर, म गलत थिएँ” ले वर्षौँको दूरी समाप्त गर्न सक्छ। तर इगोले त्यो एउटा वाक्य बोल्न दिँदैन। उसले मौनता रोज्छ, दूरी रोज्छ, पीडा रोज्छ तर झुक्न चाहँदैन। परिणामस्वरूप मानिसले बहस जित्छ तर सम्बन्ध हार्छ।
ज्ञानको सुरुवात त्यहीँबाट हुन्छ जहाँ मानिसले आफ्नो अज्ञान स्वीकार्छ। त्यसैगरी आत्म–विकासको सुरुवात त्यहीँबाट हुन्छ जहाँ मानिसले आफ्नो गल्ती स्वीकार्छ। जो सधैं आफूलाई सही ठान्छ, उसले नयाँ कुरा सिक्न सक्दैन। किनकि सिकाइको पहिलो ढोका नै “म सबै जान्दिनँ” भन्ने स्वीकारोक्ति हो।
समयले हामी सबैलाई एउटा कुरा सिकाउँछ—सत्यलाई धेरै समयसम्म इगोले छोप्न सक्दैन । ढिलो वा चाँडो, वास्तविकता प्रकट हुन्छ। त्यसबेला मानिसले बुझ्छ कि आफ्नो छवि बचाउन खोज्दा उसले धेरै मूल्यवान कुरा गुमाइसकेको रहेछ—सम्बन्ध, अवसर, शान्ति र कहिलेकाहीँ आफ्नै आत्मसम्मान पनि ।
त्यसैले जीवनको ठूलो बुद्धिमत्ता सधैं सही हुनमा होइन, गलत हुँदा स्वीकार गर्न सक्ने क्षमतामा हुन्छ। किनकि इगोले कहिल्यै “म गलत थिएँ” भन्न चाहँदैन, तर आत्मज्ञानले भने यही शब्दबाट आफ्नो यात्रा सुरु गर्छ। र धेरै पटक, यही चार शब्दले मानिसलाई अरूमाथि होइन, आफ्नै इगोमाथि विजयी बनाउँछ।