‘आमाको नजरले छोरीलाई हेर्दा’

बिहिबार, ७ साउन २०८३

प्रेमकृष्ण श्रेष्ठ

हेर्दाहेर्दै कोपिला यिनी फूल भई, तै फुल्न बाँकीझैँ
कोख र काख हुँदै धर्तीमा टेकी, तै डुल्न बाँकीझैँ
म भन्दा अग्ली, तै यिनी किन अझै सानी सानी
यिनलाई अँगालोमा लिँदा बग्छ सँधै हर्षको पानी

मेरै रुप, मेरै रंग, हरेक कला मेरै कला चोरेकी
रुप त उस्ताउस्तै भैगयो, मुटु पनि मेरै जोडेकी
यी फुल्दा मै फुलेँ, झर्दा लाग्छ मै टुटेँ कि
दुई दिन अलगिए लाग्छ, मैसँग मै छुँटे कि

थाहै नदिई यिनले मेरो बैंश चोरी सुटुक्कै
कोपिला थिई हिजो, फूल भै फुली ढकमक्कै
तै किन सँधै सानी, सँधै कलेजोमा अटाएझैँ
संसार देख्ने आँखाको नानी सँधै सानै पाएझैँ

यिनी खेलौना खेल्थी, म खुुसी, यिनलाई खेलेर
ऊ पुतलीमा हराउँथी हिजो, आफै पुतली भएर
आज पनि यिनी मेरो सुख, यिनी नै बिलौना
म आमा, सँधै बच्चा, मेरै मुटु, मेरो खेलौना

मातृत्व भन्दा ठूलो सुख, अरु के पो सुख छ
पाठेघरमा लात हाने, जिउँदै हुनुको ढुक्क छ
नौ महिना बोकी भारी, आमाको मुख उज्याली
मुस्कुराउने आमा मात्र होला, कलेजो निकाली

मैले समातेको औँलाले एकदिन म समातिउँ
यिनले छुँदा आकास, म बुढो पिपल भाचिउँ
म नहुँदा नि बाँचोस, यिनीभित्र बसी मेरै अन्तर
यिनी आमा भै चलाओस्, सृष्टिलाई निरन्तर