ऋण नतिरेपछि पूर्वमन्त्रीका दुई कम्पनी लिलाम

शुक्रबार, ८ साउन २०८३

काठमाडौं -ऋण नतिरेपछि पूर्व अर्थ सहायक मन्त्री रुप ज्योतिका दुई ठूला कम्पनीहरूको धितोमा रहेको सम्पत्ति लिलाम हुने भएको छ । लिलाम बिक्रीका लागि प्रभु बैंकले बोलपत्र आह्वान गरेको छ ।

बैंकले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै ज्योति ग्रुपका दुई कम्पनी नर्थ फेस होटल र नेपाल जनरल मार्केटिङ्ग प्रालिको नाममा रहेको चल(अचल सम्पत्ति लिलाम गर्ने प्रक्रिया अगाडि बढाएको हो । रुप ज्योति ज्योति ग्रुपका अध्यक्ष हुन् ।

बैंकले यसअघि पटक(पटक मौखिक तथा लिखित ताकेता गर्नुका साथै ३५ दिने र १५ दिने सार्वजनिक सूचना जारी गर्दा पनि ऋणी र जमानतकर्ताहरूले कर्जा राफसाफ गर्न चासो नदेखाएपछि अन्तिम पटक ७ दिने सूचना निकालिएको हो ।

बैंकका अनुसार, लिलामीमा राखिएको पहिलो कम्पनी नर्थ फेस होटल प्रालि रहेको छ, जसको सञ्चालक तथा जमानतकर्ता उद्योगी तथा पूर्वमन्त्री रुप ज्योति रहेका छन् । यस कम्पनीको धितो स्वरूप काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा अवस्थित विभिन्न कित्ताका एक दर्जनभन्दा बढी जग्गाहरू र सो जग्गाले चर्चेको सम्पूर्ण संरचनाहरू लिलाम गरिँदैछ । बैंकले यी सम्पत्तिहरू ‘जे जस्तो अवस्थामा छ, सोही अवस्थामा’ बिक्री गर्ने स्पष्ट पारेको छ ।

त्यसैगरी, दोस्रो कम्पनी ‘नेपाल जनरल मार्केटिङ प्रालि’ को नाममा रहेको ठुलो परिमाणको सम्पत्ति पनि लिलामीमा चढाइएको छ । यस कम्पनीको जमानतकर्ताहरूमा रुप ज्योति, उनका छोरा अभिक ज्योति र छोरी सुरुची ज्योति छन् । यो कम्पनी विगतमा हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक थियो । तर अहिले भने आधिकारिकता खोसिएको छ ।

यो कम्पनीको धितोमा ललितपुरको वडा ६ मा रहेको घरजग्गा, पर्सा जिल्लाको चोर्नीमा रहेको ठुलो क्षेत्रफलको जग्गा, काठमाडौंको डिल्लीबजारमा रहेका विभिन्न कित्ताका जग्गा तथा भवनहरू र कलंकीमा रहेको घरजग्गा रहेका छन् । साथै, कम्पनीको मौज्दात र चालु सम्पत्तिहरू उपर रहेको हाइपोथिकेशन सुरक्षणलाई समेत बैंकले लिलामीको प्रक्रियामा समावेश गरेको छ ।

बैंकले इच्छुक बोलपत्रदाताहरूलाई यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र ९साउन १४ गतेसम्म० काठमाडौंको बबरमहलस्थित प्रधान कार्यालयमा शिलबन्दी बोलपत्र बुझाउन आह्वान गरेको छ । प्राप्त बोलपत्रहरू साउन १५ गते दिउँसो १ बजे बैंकको प्रधान कार्यालयमा सरोकारवालाहरूको रोहबरमा खोलिनेछ । बोलपत्र फारम र त्यसका सर्तहरू बैंकको कर्जा असुली विभागबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ ।