स्काउटलाई राजनीति प्रभावमुक्त गर्दै शुद्धीकरण गर्न आवश्यक : राजीव खत्री

शुक्रबार, ८ साउन २०८३

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले नेपाल स्काउटलाई राजनीतिक प्रभावबाट मुक्त गर्दै शुद्धीकरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिका प्रमुख आयुक्त सन्तोषकुमार थापा तथा सदस्य पदमा नियुक्त भएकाहरूको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै सांसद खत्रीले नवनियुक्त कार्यसमितिलाई बधाई दिँदै अब काम गर्ने समय आएको बताए ।

उनले भने, ‘निर्वाचित सबैलाई बधाई दिन चाहन्छु । सन्तोषकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । सबैलाई बधाईसहित शुभकामना छ । अब उहाँहरूसँग बधाई खान र शुभकामना लिन फुर्सद छैन, किनभने काम गर्नुपर्ने अवस्था छ ।’

खत्रीले स्काउटका लागि समय व्यवस्थापन र जिम्मेवारी पूरा गर्नु ठूलो चुनौती रहेको बताए । ‘अरूका लागि एक दिनमा २४ घण्टा हुन्छ भनिन्छ, तर स्काउटका लागि ३६ घण्टा हुन्छ भनेर स्काउटका गुरुहरूले सिकाउनुहुन्थ्यो । वास्तवमै उहाँहरूका लागि २४ घण्टालाई ३६ घण्टामा बदल्ने चुनौती छ,’ उनले भने ।

उनले आगामी ११ महिनाभित्र ७५३ वटै स्थानीय तह, सात प्रदेश र केन्द्रको निर्वाचन सम्पन्न गरी जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने अवस्था रहेको उल्लेख गरे । खत्रीले जिम्मेवारी हस्तान्तरण मात्र नभई स्काउटको सुधार र शुद्धीकरण पनि आवश्यक रहेको बताए ।

‘वर्षौंदेखि स्काउटिङ राजनीतिको गोलचक्करमा घुमेको छ । त्यसैले यसलाई शुद्धीकरण गर्नु पनि उहाँहरूको दायित्व हो । स्काउटका लागि यस पटक स्काउट नै हुन जरुरी छ,’उनले भने ।