रोल्पा अस्पतालमा रोकिएका सेवा पुनः सञ्चालन
टेकमन विष्ट
रोल्पा अस्पतालमा केही समयदेखि चिकित्सक अभावका कारण प्रभावित हुँदै आएका विशेषज्ञसहितका स्वास्थ्य सेवा सोमबारदेखि पुनः सञ्चालनमा आएका छन् । अस्पतालमा आवश्यक जनशक्ति उपलब्ध हुन नसक्दा केही समयदेखि रोकिएका सेवा नयाँ चिकित्सक तथा स्वास्थ्यकर्मीको आगमनसँगै पुनः नियमित रूपमा सञ्चालनमा आएका हुन् ।
विगत पाँच वर्षदेखि रोल्पा अस्पतालमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको निक साइमन इन्स्टिच्युटले अस्पतालबाट सेवा छाडेपछि चिकित्सक अभाव देखिएको थियो । इन्स्टिच्युटमार्फत उपलब्ध हुँदै आएका चिकित्सकको सेवा बन्द भएपछि अस्पतालमा विशेषज्ञ सेवा सञ्चालनमा समेत कठिनाइ उत्पन्न भएको थियो । चिकित्सक अभावका कारण बिरामीले सहज रूपमा उपचार सेवा पाउन नसक्ने तथा कतिपय अवस्थामा अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
पछिल्लो समय अस्पतालमा ९औँ तहका कन्सल्टेन्ट जनरल फिजिसियन डा. सुरज पोखरेल, एमडीजीपी डा. प्रदीप चालिसे तथा एनेस्थेसिया असिस्टेन्ट बालकुमारी राना मगर आएपछि रोकिएका तथा प्रभावित भएका सेवाहरू पुनः सञ्चालनमा आएको रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले जानकारी दिए ।
नयाँ जनशक्ति थपिएसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीलाई पहिलेको तुलनामा सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुगेको अस्पतालले जनाएको छ। विशेषगरी चिकित्सक अभावका कारण प्रभावित भएको विशेषज्ञ सेवा सञ्चालनमा आएपछि जिल्लाका विभिन्न स्थानीय तहबाट उपचारका लागि रोल्पा अस्पताल आउने बिरामीलाई राहत मिल्ने अपेक्षा गरिएको छ ।
रोल्पा अस्पताल ५० शय्याको अस्पताल हो । अस्पतालमा विभिन्न तहका गरी २२ जना चिकित्सकको दरबन्दी रहेको भए पनि दरबन्दीअनुसार चिकित्सक उपलब्ध हुन नसक्दा लामो समयदेखि सेवा प्रवाहमा समस्या हुँदै आएको छ । आवश्यक संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी नहुँदा अस्पतालले उपलब्ध जनशक्तिबाटै बिरामीको उपचार तथा अन्य स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ ।
भौगोलिक रूपमा विकट मानिने रोल्पाका ग्रामीण क्षेत्रका नागरिकका लागि जिल्ला अस्पताल नै प्रमुख स्वास्थ्य उपचारको केन्द्र हो । जिल्लाका विभिन्न गाउँबाट उपचारका लागि आउने बिरामीलाई विशेषज्ञ सेवा जिल्लामै उपलब्ध हुन सके उपचारका लागि बाहिरी जिल्ला जानुपर्ने बाध्यता कम हुने देखिन्छ । चिकित्सक अभावका कारण सेवा प्रभावित हुँदा बिरामीले दाङ, बुटवललगायतका स्थानमा जानुपर्ने अवस्था समेत आउने गरेको छ ।
अस्पतालमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको दरबन्दी पूरा गर्न सकेमा जिल्लामै थप प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न सकिने स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको भनाइ छ। अहिले केही सेवा पुनः सञ्चालनमा आए पनि अस्पतालको दीर्घकालीन सेवा सुधारका लागि दरबन्दीअनुसार चिकित्सक तथा अन्य आवश्यक स्वास्थ्य जनशक्ति व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ।
रोल्पा अस्पतालका सूचना अधिकारी डाँगीका अनुसार नयाँ चिकित्सक तथा स्वास्थ्यकर्मीको आगमनसँगै हाल प्रभावित भएका सेवाहरूलाई नियमित बनाउने काम भइरहेको छ । अस्पतालमा आउने बिरामीलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा प्रदान गर्ने गरी सेवा प्रवाहलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको उनको भनाई छ ।