जेनजी आन्दोलनलाई क्रान्तिका रूपमा स्वीकार गर्नुपर्छ : सांसद भण्डारी

बिहिबार, २५ भाद्र २०८३

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बदन भण्डारीले जेनजी पुस्ताले गरेको आन्दोलनलाई पनि विगतका राजनीतिक आन्दोलनजस्तै क्रान्तिका रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विगतमा भएका राजनीतिक आन्दोलनका क्रममा समेत हिंसा र द्वन्द्व भएको स्मरण गराउँदै जेनजी आन्दोलनलाई मात्रै हिंसाका रूपमा हेर्न नहुने बताएका हुन् ।

उनले भने, ‘जेनजी पुस्ताले एउटा आन्दोलन गर्यो तर त्यो आन्दोलनलाई आज हामीले क्रान्तिको रूपमा स्वीकार गर्न कतिपय विपक्षी सांसदहरुले सकिरहनु भएको छैन । विगतलाई स्मरण गराउन चाहन्छु, २००७ सालमा राणाकालीन विद्रोह गरिरहँदा त्यतिखेर पनि हिंसा भएको थियो । ०७ सालको विद्रोहले राणा फालेर प्रजातन्त्र आयो। १७ सालमा पञ्चायत आयो, ०३६ सालको बहुदलीय आन्दोलन हेर्ने हो भने पनि आन्दोलनको क्रममा विभिन्न हिंसाहरु भएका छन्।’

उनले २०४६ सालको आन्दोलन, झापा विद्रोह तथा वामपन्थी विद्रोहका क्रममा समेत द्वन्द्व र हिंसा भएको उल्लेख गरे ।

‘०४६ सालको आन्दोलनपछि ०४७ साल मुलुकले संविधान पाइरहँदा ०४६ सालको आन्दोलनलाई पनि हामीले हेर्नुपर्छ । त्यतिमात्र नभएर झापा विद्रोहलाई हेर्नुपर्छ । वामपन्थी विद्रोहलाई हेर्नुपर्छ । त्यतिखेरको आन्दोलनलाई यहाँहरु क्रान्ति मान्ने, जेनजी आन्दोलनलाई हिंसा मान्ने यो तपाइँहरुको दोष हो । यसमा म स्पष्ट पार्न चाहन्छु।’

भण्डारीले गत भदौ २३ गते जेनजी पुस्ताले आन्दोलनको शंखघोष गरेको भन्दै त्यसबेला सुशासन र बन्द गरिएको सामाजिक सञ्जाल खोल्नुपर्ने माग रहेको बताए। आन्दोलनका क्रममा नाबालकसहित प्रदर्शनकारीमाथि गोली चलाइएको र त्यसपछि २४ गते सिंहदरबार तथा सर्वोच्च अदालतमा आगजनी भएको उनको भनाइ थियो ।

उनले भने, ‘गत भदौ २३ गते जेनजी पुस्ताले आन्दोलनको शंखघोष गर्यो । त्यतिखेर सुशासनको कुरा थियो, तत्कालीन अवस्थामा बन्द भएको सामाजिक सञ्जाल खुल्नुपर्छ भन्ने कुरा थियो । २३ गते विद्रोह गरिरहँदा ती नाबालकहरुलाई ताकीताकी कञ्चटमा गोली हान्ने, रगत भल्भलाउँदै ढल्नुपर्यो, मर्नुपर्यो त्यो परिस्थिति सिर्जना भयो।’

उनले २३ गते गोली नचलाइएको भए २४ गते सिंहदरबार र सर्वोच्च अदालतमा आगजनीको अवस्था नआउने दाबी गरे।

‘२४ गते जल्दै गरेको सिंहदरबार, २४ गते जल्दै गरेको सर्वोच्च अदालत त्यसको दोषी २३ गते गोली चलाउनेहरुले लिनुपर्छ । यदि २३ गते गोली नचलेको भए सिंहदरबार जल्दैन थियो । क्रान्ति भनेको इन्ची टेपले नापेर हुँदैन । हुनुपर्ने पनि भयो । हुन नपर्ने पनि भयो । जल्नुपर्ने पनि जल्यो, जल्न नपर्ने पनि जल्यो, हामी यो स्वीकार गर्छौं।’

भण्डारीले विगतका क्रान्तिमा पनि हिंसा र द्वन्द्व भएको भन्दै ती आन्दोलनलाई क्रान्ति मान्ने हो भने जेनजी आन्दोलनलाई पनि क्रान्तिका रूपमा स्वीकार गर्नुपर्ने बताए ।