एनआईसी एशिया बैंकद्वारा नेपालमै पहिलो पटक एप्पल पे र गुगल पे भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा

शुक्रबार, १६ असोज २०८३

काठमाडौं –एनआईसी एशिया बैंकले नेपालमै पहिलोपटक एप्पल पे र गुगल पे मार्फत हुने अन्तर्राष्ट्रिय भुक्तानी स्वीकार गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ।

बैंकको ई–कमर्स पेमेन्ट गेटवे प्रयोग गरिरहेका मर्चेन्ट ग्राहकले अब एप्पल पे तथा गुगल पे मा आबद्ध भिसा र मास्टर कार्ड प्रयोगकर्ताबाट सहज र सुरक्षित रूपमा भुक्तानी लिन सक्नेछन्।

बैंकले आफ्नो Cyber Source Payment Gateway मा एप्पल पे र गुगल पे भुक्तानी प्रणाली आबद्ध गरेपछि यस्तो सुविधा उपलब्ध भएको हो। यसबाट नेपालका व्यवसायीले विदेशमा रहेका ग्राहकबाट डिजिटल माध्यममार्फत भुक्तानी प्राप्त गर्न थप सहज हुने बैंकको विश्वास छ।

एप्पल पे तथा गुगल पे विश्वव्यापी रूपमा प्रयोग हुने मोबाइलमा आधारित डिजिटल भुक्तानी प्रणाली हुन्। यी प्रणालीमा प्रयोगकर्ताको वास्तविक कार्ड विवरणको सट्टा Tokenization  प्रविधिमार्फत सुरक्षित विवरण प्रयोग हुने भएकाले कारोबारलाई थप सुरक्षित र सरल बनाउन सहयोग पुग्ने बैंकले जनाएको छ।

यो सुविधा विशेषगरी होटल, टुर एन्ड ट्राभल्स, ह्यान्डिक्राफ्ट, एयरलाइन्स, ई–कमर्स तथा सूचना प्रविधि क्षेत्रका व्यवसायीका लागि उपयोगी हुने बैंकको भनाइ छ। बैंकको ई–कमर्स पेमेन्ट गेटवेमा आबद्ध मर्चेन्टले अन्तर्राष्ट्रिय ग्राहकबाट एप्पल पे तथा गुगल पे प्रयोग गरी भुक्तानी प्राप्त गर्न सक्नेछन्।

बैंकका अनुसार नयाँ सेवाले नेपालका व्यवसायीलाई विदेशी ग्राहकसँग कारोबार गर्न सहज बनाउँदै उनीहरूकोPayment Experience सुधार गर्न सहयोग पुर्‍याउनेछ। खासगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई–कमर्स, आईटी र वस्तु निर्यातमा संलग्न व्यवसायीले अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी संकलन गर्न थप विकल्प पाउनेछन्।

यसले एकातिर नेपाली व्यवसायीको अन्तर्राष्ट्रिय बजारसँगको पहुँच विस्तार गर्न सहयोग गर्ने र अर्कोतिर विदेशी मुद्रा आर्जन तथा अन्तरदेशीय कारोबार सहज बनाउन पनि भूमिका खेल्ने अपेक्षा बैंकले गरेको छ। एनआईसी एशिया बैंकले यो सेवा सञ्चालनसँगै डिजिटल भुक्तानीलाई थप सरल, सुरक्षित र आधुनिक बनाउने तथा नेपालमा अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्रणालीको प्रयोग विस्तार गर्ने लक्ष्य राखिएको जनाएको छ।