राप्रपा संयुक्तका अध्यक्ष राणाले पनि मुख खोले, के राजसंस्था फर्किन लागेको हो ?
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशमशेर जबराले नेपालमा नेपालमा राजतन्त्रको आबश्यकता महसुस भएको बताएका छन् । राष्ट्रप्रमुखको रुपमा रहेका प्रथम र वर्तमान राष्ट्रपति दुवैको भूमिका निश्पक्ष र स्वतन्त्र हुन नसकेकोले अव देशका राजसंस्थालाई राष्ट्रप्रमुखको भुमिका दिनुपर्ने बताए ।
अध्यक्ष जबराले आफ्ना जिजु काकाले दिएको दरबारले पनि नपुगेर अहिले राष्ट्रपति शीतलनिवास नजिकै रहेको प्रहरी तालिम केन्द्रको जग्गा पनि सोखको लागि राष्ट्रपति कार्यालयको बनाउने काम गरेकोमा आपत्ति जनाए । उनले भने, ‘राष्ट्रपतिले आफ्नो सोख पुरा गर्नको लागि अहिले पोलिस एकेडेमीलाई पहाडतिर धकेल्ने काम गर्नुभयो ।’
उनले निश्पक्ष र कुनैपनि पार्टीमा आबद्ध नभएकोले राजसंस्थाजस्तो पूरानो संस्थाले मात्रै राष्ट्र प्रमुखको भूमिका निर्वाह गर्न सक्ने पनि विश्वास दिलाए । उनले भने, ‘हामीले त राजसंस्थासहितको प्रजातन्त्र भनेका छौं । यसमा बहस पैरवी हुनुपर्छ ।’
उनले ८१ प्रतिशत हिन्दूहरु भएको र ९४ प्रतिशत ॐकार परिवार बस्ने प्रकृतिको मुलुकलाई धर्मनिरपेक्षता बनाएकोमा आक्रोश पोखे । उनले भने, ‘अब यो देशलाई हिन्दूराष्ट्र बनाउन अत्यावश्यक छ । हामीले संविधान जारी गर्दा पनि यो कुरा जोडदार रुपमा उठाएका थियौं ।’
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहलाई धेरै नबोल्न दिएको चेतावनीको बारेमा सोधिएको प्रश्नमा उनले भने, ‘प्रचण्डजीले जे बोल्नुभएको छ, यो उहाँको स्वतन्त्रताको कुरा हो । कसैले पनि बोल्नलाई रोक्न सक्दैन् । तर, धम्की नै दिएर यो गर, उ नगर भनेर भन्नु चाहिँ हुँदैन् । राजाले म फर्किन्छु भनेर हिँडेको छैन् । उहाँले भाषण गरेको छैन् । उहाँ जहाँ जानुहुन्छ, त्यहाँ जनताको भीड लाग्छ, त्यो कुन ठूलो अपराध हो ।’