रवि लामिछानेलाई अर्को आपत, काठमाडौं प्रहरीमा पर्यो मुद्धा
काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेविरुद्ध पीडित परिवारले किटानी जाहेरी दिएको छ ।
लामिछानेका परिवारले महानगरीय प्रहरी परिसर काठमाण्डुमार्फत लामिछानेसहित सोही प्रकरणमा पक्राउ परेका ‘सिधा कुरा जनतासँग’ नामको टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र स्टाफ नर्स ओखलढुंगाकी अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएको हो । मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैं प्रहरीमा उपस्थित भएर किटानी जाहेरी दिएकी हुन् ।
किटानी जाहेरीमा उनले आफ्ना श्रीमानलाई लामिछाने, कँडेल र कार्कीले आत्महत्याको बाटो रोज्न बाध्य पारेकाले उनीहरुमाथि मुलुकी अपराध संहिताको दुरुत्साहनअन्तर्गत कारबाही गर्न माग गरेकी छन् । किटानी जाहेरी दिने क्रममा उनी भावुक भएर रोएको पुडासैनीका छिमेकी गोकर्ण न्यौपानेले बताए । शनिबार १३ दिनको काजक्रिया सकेर आइतबार उजुरी दिइएको परिवारले जनाएको छ ।
२० साउनमा चितवनको नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा उनीहरु तीनजनाका कारण आफूले आत्महत्या गरेको बताएका छन् । उक्त भिडियो केही दिनअघि सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्यसलगत्तै प्रहरीले लामिछाने र कँडेललाई उनीहरु कार्यरत न्यूज २४ टेलिभिजनको कार्यालय पानीपोखरी र कार्कीलाई कलंकीबाट पक्राउ गरेको थियो ।