ओली सरकारको अर्को राष्ट्रघात, हजारौं मजदुरको रोजीरोटी गुम्यो

सोमबार, २ भाद्र २०७६

बिराटनगर – प्रधानमन्त्री ओलीका कारण नाम चलेका उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । सामान्य पूर्वाधार पुर्याउन नसक्दा धेरै उद्योगहरु बन्न भएका छन् । एक बर्षमा ५ लाखलाई रोजगारी दिन्छु भन्ने सरकारले धमाधम उद्योग बन्द गर्न थालेको छ । भर्खरै बन्द भएका उद्योगहरुबाट हजारौं श्रमिकले् रोजगारी गुमाएका छन् ।

सुनसरी–मोरङ औद्योगिक कोरिडोरका सयभन्दा बढी उद्योग बन्द हुँदा ३० हजार भन्दा बढि श्रमिकको रोजगारी गुमेको छ । प्रमुख औद्योगिक शहर बिराटनगर, दुहबी र खनारमा सञ्चालित उद्योगहरु सरकारको बेवास्ताले गर्दा घरासायी हुन थालेको उद्योगीहरुको गुनासो छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोर आसपासका क्षेत्रमा साना–ठूला गरी ६६५ उद्योग सञ्चालनमा छन् । यीमध्ये १५० वटा ठूला र मझौला उद्योग खुलेकोमा अहिले १०७ वटा त्यस्ता उद्योग बन्द भएको उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए ।

बन्द भएका यी १०७ उद्योगमा २३ अर्बको लगानी थियो भने ३० हजार श्रमिकले रोजगारी पाएका थिए ।

घिमिरेका अनुसार अशोक टेक्सटायल, प्रभात टेक्सटायल लगायत आधा दर्जन भन्दा बढी टेक्सटायल उद्योगहरु बन्द भएका छन् । त्यसैगरी दुहबीको बंशल इण्डष्ट्रिज (पाइप उद्योग) बन्द भएको छ । आइरन उद्योग, कर्कट पाता र पाइप उद्योगहरु पनि बन्द भएका छन् ।

अम्बे, सांग्रिला इन्टरनेशनल, अमी, जेडी, इजी वेयर, फेसन फेब्रिक, जस्ता तयारी पोशाकका ठूला उद्योग पनि यसबीचमा बन्द भएका छन् । ठूलो स्वदेशी लगानीका पशुपति सावन, अन्नपूर्ण सप, नेशनल पाइप लगायतका दर्जन बढी नाम चलेका उद्योग बन्द भएका छन् ।

मोरङ–सुनसरीमा ११ वटा ठूला जुट उद्योगहरु सञ्चालनमा थिए । अहिले ५ वटा मात्रै सञ्चालनमा रहेको उद्योगी राजकुमार गोल्छा बताउँछन् ।

विदेशी लगानीका बंशल नेपाल, क्रिस्टेन, सूर्य नेपाल लगायत करिव एक दर्जन उद्योग बन्द भएका छन् । वंशल र क्रिस्टेनले कर्कट पाता एवं जीआइपी पाइप उत्पादन गरी भारत लगायतका मुलुकमा तयारी वस्तु निर्यात गर्दै आएका थिए । सूर्य नेपालबाट उत्पादित तयारी वस्तु विभिन्न मुलुकमा निर्यात हुँदै आएको थियो ।

यस करिडोरमा सञ्चालित उद्योगमध्ये १९ प्रतिशतले उत्पादित वस्तुहरु विदेश निर्यात गर्दै आएका छन् ।