चिनियाँ राष्ट्रपति सी नेपाल आउँने पक्का, भ्रमणको मिति तोकियो
काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको मिति तोकिएको छ । सि दशैं लगतै अर्थात असोज २७ गते नेपाल भ्रमणमा आउने पक्का भएको छ । उनी भारत हुँदै नेपाल आउने छन् र बेइजिङ र्फकनेछन् ।
सी भारत चीन अनौपचारिक सम्मेलनका लागि ११ अक्टोबरमा भारत जानेछन् । सम्भवत यो सम्मेलन तमिलनाडूमा हुनेछ । गत वर्ष मोदी चीन गएका थिए ।मोदीसँगको अनौपचारिक सम्मेलनपछि सी नेपाल आउने पक्का भएको स्रोतको दाबी छन् । स्रोतका अनुसार १४ अक्टोेबर अर्थात २७ असोजमा आउनेछन् र, भोलिपल्ट फर्किनेछन् ।
सीको भ्रमणको पूर्वसध्यामा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको टोली नेपाल आउँदैछ । टोलीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा०का नेताहरुसँग छलफल गर्नेछ । एक अधिकारीका अनुसार चिनियाँ पक्षले अहिले पनि राष्ट्रपतिको सुरक्षालाई बढी चासो दिएको छ ।
सरकारले भने सीको भ्रमणका क्रममा गर्न सकिने सम्झौताहरुका लागि गृहकार्य थालेको छ । यसअघि चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा छलफल भएको काठमाडौं केरुङ रेल मदनभण्डारी विश्वविद्यालय लगायतका विषयलाई टुंग्याउने सरकारको प्रयास छ । स्रोतका अनुसार सीको भ्रमणका क्रममा रेलको डीपीआर गर्ने सम्झौता हुनसक्छ । तर लगानीबारे अहिलेसम्म टुंगो लागेको छैन ।