खुल्लामञ्च विक्रि भएको खुलासा, कसले बेच्यो काठमाडौंको मुटु ?

मंगलबार, १४ असोज २०७६

काठमाडौं – भूमाफियाले खुलामञ्चसंग जोडिएको सरकारी जग्गा बेचेको भेटिएको छ । दुईमाजु गुठी मन्दिरको उक्त जग्गामा काठमाडौं महानगरपालिका, गुठी संस्थान र २८ नम्बर वडा कार्यालयको मिलोमतोमा भूमाफियाले अस्थायी टहरा बनाएर बेचविखन गरेको पाइएको छ ।

खुलामञ्चबाट उत्तर र रत्नपार्कबाट दक्षिणतर्फ रहेको एक रोपनी भन्दा बढी जग्गा व्यक्तिगत रुपमा प्रयोग भइरहेको छ । खुल्लामञ्च बचाउ अभियानमा लागेका स्थानीय सुसन वैद्य भन्छन्, ‘हामी खुलामञ्च जोगाउनतिर लाग्यौं, भूमाफिया चाहिँ खुलामञ्चसँग साँध जोगिएको गुठीको जग्गा बेच्न तिर लागेछ ।’

गुठी संस्थानसँग १५ हजार रुपैयाँमा भाडामा लिएको जग्गाबाट गैरकानूनी रुपमा मासिक सात लाख रुपैँया भन्दा बढी असुली भइरहेको जानकारहरू बताउँछन् । २०७५ मंसिर ९ गते गुठी संस्थानले भीमसेन गाउँपालिका २, गोरखा हाल तीनकुने काठमाडौं बस्ने अमृता भट्टराईलाई पाँच वर्षमा लागि भाडामा दिएको देखिन्छ । अमृता र गुठी संस्थान, शाखा कार्यालय काठमाडौंका बैकुण्ठप्रसाद रेग्मीद्वारा हस्ताक्षरित सम्झौतापत्रको दोस्रो बुँदा अनुसार संस्थानले भट्टराईसँग मासिक १५ हजार रुपैयाँ भाडा लिएको छ । अमृताले गुठी संस्थान काठमाडौं शाखाको माछा पुच्छ्रे बैंकमा छ महिनाको भाडा बराबर ९० हजार रुपैयाँ धरौटी जम्मा गरेकी छन् ।

दुईमाजु गुठीको जग्गामा टहरा बनाएर पसल सञ्चालन गरिरहेका एक व्यापारीका अनुसार त्यहाँका ३५ वटा पसलबाट मासिक सात लाख रुपैयाँ भाडा उठ्ने गरेको छ । आफूहरूले प्रतिपसल मासिक २० हजार रुपैयाँ भाडा बुझाउने गरेको जानकारी दिए । कपडाको खुद्रा व्यापार गरिरहेका ती व्यापारी आफूहरूले अमृता भट्टराईलाई नभई उर्मिला कडरियालाई भाडा बुझाउने गरेको बताए ।