कति छन् विप्लवका सेना ? प्रहरीले भेटायो गतिलो प्रमाण
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ । हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ ।
पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने ती दस्तावेजमा उल्लेख छ । त्यसका लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको दस्तावेज प्रहरीले फेला पारेको छ । ‘बरामद दस्तावेज र निर्णय–पुस्तिकामा सैन्य शक्ति निर्माण गर्ने उल्लेख गरेको भेटिएको छ’, दाङका प्रहरी प्रवक्ता तथा डीएसपी विनोदविक्रम शाहले भने, ‘प्लाटुनसम्मका सैन्य संरचना बनाउने खाका रहेछ । राजापुरबाट पक्राउ परेका २१ जना विप्लवका नेताहरूबाट बरामद भएका दस्तावेजमा यो भेटिएको हो।’ उनीहरू असोज ३० गते बिहान १ बजे राजपुर–४ मगराइना गाउँबाट पक्राउ परेका थिए ।
सैन्य तालिम र प्रशिक्षणका लागि राजापुर क्षेत्र प्रयोग गर्ने योजना रहेको खुलेको छ । ‘खास गरेर प्रतिरक्षाका लागि यो संरचना तयार गर्दै रहेछन् भन्ने बुझिन्छ’, डीएसपी शाहले भने, ‘दस्तावेजमा सेनाको कुरा पटक–पटक उल्लेख गरिएको छ । सैन्य संरचनासँगै मंसिरसम्म चन्दा संकलन बढाउने योजना पनि फेला परेको छ ।’
उक्त पार्टीले साबिकको राप्ती अञ्चलका पाँच जिल्लाबाट १ करोड रुपैयाँभन्दा बढी चन्दा उठाएको भेटिएको छ । बरामद राजनीतिक दस्तावेजमा चन्दा संकलनबाट १ करोड रुपैयाँभन्दा बढी संकलन भएको र त्यो रकम पार्टीका कार्यक्रम तथा व्यवस्थापनमा खर्च भएको उल्लेख रहेको उनले बताए ।
‘१ करोडभन्दा बढी चन्दा संकलन गरी खर्च गरेको दस्तावेज बरामद भएको छ’, उनले भने, ‘चन्दा दिनेमा जनप्रतिनिधि, व्यापारी, उद्योगी देखिएका छन् । कोबाट कति चन्दा उठाए र अब कोसँग उठाउने तयारी छ भन्नेसम्म फेला परेको छ ।’ उद्योगी÷व्यापारीले मात्र होइन, जनप्रतिनिधिले पनि चन्दा सहयोग गरेको देखिएको उनले बताए । विप्लवले सबैभन्दा बढी चन्दा दाङबाटै उठाएको देखिएको छ ।
जनवर्गीय संगठन विस्तार, राजनीतिक प्रशिक्षण, सैन्य प्रशिक्षण चलाउने, एक घर एक पार्टी सदस्य बनाउने, सैन्य संगठन बलियो बनाउन तालिम सञ्चालन गर्ने र चन्दा अभियानलाई तीव्र पार्ने निर्णय गरेको प्रहरीले फेला पारेको छ ।
दाङबाट पक्राउ परेका विप्लव नेतृत्वको पार्टीका नेताले प्रहरीमा बयान दिन अस्वीकार गरेका छन् । मध्यपश्चिम कमान्डर चन्द्रबहादु चन्द ‘वीरजङ’सहितका नेताले बयान दिन नमानेका हुन् । उनीहरू मौन रहने गरेको प्रवक्ता शाहले बताए । ‘हामीलाई केही थाहा छैन, सबै डायरी र दस्तावेजमा छ । त्यही हेर्नुहोस् भनेर जवाफ फर्काउँछन्’, उनले भने ।
यसबाट अनुसन्धानमा समस्या भएको उनले सुनाए । कसैले त नामसमेत गलत बताएको पाइएको छ । उनले भने, ‘दस्तावेज र डायरीबाटैै सूक्ष्म अनुसन्धान भइरहेको छ ।’ दस्तावेजमै कसैले केही कुरा नखोल्ने र खोले कारबाही उल्लेख भएकाले उनीहरू बोल्न नमानेको प्रहरीको अनुमान छ । संविधानमै नबोल्न पाउने अधिकार भएकाले बोल्न लगाउन झनै समस्या भएको प्रहरीले जनाएको छ । याे समाचार अन्नपुर्ण पाेस्टमा प्रकाशित छ ।