कारखानामा आगो लाग्दा पाँच जनाको मृत्यु, प्रशासनले लगायो कर्फ्यू
एजेन्सी– चिलीको राजधानी स्यान्टिएगोमा विरोध प्रदर्शनको लहर चलिरहेका बेला लुटेराहरूले राजधानी नजिकैको एउटा कपडा कारखानामा आगो लगाइदिँदा पाँचजनाको मृत्यु भएको छ । मुख्य सहरहरूमा कर्फ्यू लगाइएको छ भने प्रदर्शनकारीविरुद्ध सेना र प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेका बीबीसीले जनाएको छ ।
मेट्रो रेलको भाडादर वृद्धि भएसँगै सुरु भएको विरोध प्रदर्शनहरूमा अहिले महँगो जीवनयापन र असमानतासम्म प्रतिविम्बित भएका छन् । तनाव बढ्दै गएपछि बढाइएको भाडा दर स्थगित गरिएको छ ।
राष्ट्रपति सेबास्टियन पीनेराले सरकारको प्रतिक्रियाको बचाउ गरेका छन् । अधिकारीहरूसँगको आपत्कालीन बैठकपछि बोल्दै उनले भने, ‘मलाई लाग्छ कि प्रजातन्त्रमा केवल अधिकार मात्रै हुँदैन । प्रजातन्त्रले प्रदान गर्ने सबै साधन प्रयोग गरेर आफ्नो बचाउ गर्नु पनि प्रजातन्त्र हो ।’
शुक्रवार उनले देशका पाँचवटा क्षेत्रमा सङ्कटकाल घोषणा गरेपनि देशभर प्रदर्शन जारी छ । उक्त सङ्कटकाल अन्तर्गत मानिसहरूलाई भेला हुन र आवतजावत गर्न रोक लगाइएको छ । अगस्टो पिनोसेको तानाशाही शासन सकिएपछि सन् १९९० मा चिलीमा प्रजातन्त्रमा पुनर्स्थापना भएयता पहिलोपटक हजारौँ सैनिक र पानीका ट्याङ्करहरू राजधानी र अन्य सहरका सडकहरूमा पठाइएका छन् ।
आइतवार लुटपाट र आगजनी निरन्तर भयो र प्रदर्शनकारीहरूले थप बस जलाए, मेट्रो स्टेसनहरूमा तोडफोड गरे र दङ्गा प्रहरीसँग झडप गरे । देशभर १४ सय मानिसहरू थुनामा रहेका छन् भने अधिकारीहरूका अनुसार प्रहरीसँगको झडपपछि दुईजना मानिसहरू गोली लागेर घाइते भएका छन् । सार्वजनिक यातायातको भाडादरमा वृद्धि भएको विषयबाट उठेको उक्त अशान्तिमा शुक्रवारयता ८ जनाको ज्यान गइसकेको छ ।