अदालतको कठघरामा पूर्वसांसद शाह

सोमबार, ४ कार्तिक २०७६

काठमाडौं– उच्च अदालत पाटनले पूर्वसांसद शाहलाई आफ्नो बच्चासहित उपस्थित हुन आदेश दिएको छ । डाउन सिड्रोम भएको बच्चा जन्मिएपछि अस्पतालले लापरवाही गरेको भन्दै बच्चा बुझ्न नमानेपछि मेडिसिटि अस्पतालले पाटन उ्रच्च अदालतमा मुद्धा दायर गरेको थियो । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६५ (३) बमोजिम बालबालिकाको हक अधिकार प्रचलन गर्नको लागि अदालतले उक्त मुद्धामाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो ।

साहलाई पत्र बुझेको ३ दिनभित्र बच्चा लिएर उपस्थित हुन रजिस्ट्रार बाबुराम दाहालले आदेश दिएका हुन् । मेडिसिटी अस्पतालले बच्चा जिम्मा लगाई हक प्रचलन गराइ पाउँ भनी अदालतम दर्ता भएको मुद्दामाथि न्यायाधीश श्रीमणकुमार गौतम र टेकनारायण कुँवरको इजलासले असोज ८ गते बालकको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको थियो। शो रिपोर्ट अस्पतालले असोज २९ गते अदालतमा बुझाएको थियो । रिपोर्टमा बच्चाको स्वास्थ्य अवस्था सामान्य भएको र डिस्चार्ज दिन मिल्ने व्यहोरा उल्लेख गरिएको थियो ।

अस्पतालको लापरबाहीले ‘डाउन सिन्ड्रोम’ शिशु जन्मिएको भन्दै बाँकी जीवनभरको उपचारको ग्यारेन्टी हुनुपर्ने भन्दै साह र उनका पति राजेश महतोले बच्चालाई मेडिसिटीबाट घर लैजान मानिरहेका थिएनन् । शाहले गत फागुन २८ गते मेडिसिटी अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन्। शिशु जन्मिँदा स्वास्थ्य ठीक थिएन। १२ हप्तामै पत्ता लाग्नुपर्ने ‘डाउन सिन्ड्रोम’ परीक्षण नगर्दा अस्वस्थ शिशु जन्मिएको दाबी शाहको छ।

के हो ‘डाउन सिन्ड्रोम ?

चिकित्सकका अनुसार क्रोमोजमोममा हुने असामान्य अवस्था डाउन सिन्ड्रोम हो। सामान्य बच्चामा ४६ क्रोमोजोम हुन्छन् भने डाउन सिन्ड्रोम भएका बच्चामा ४७ क्रमोजोम हुन्छन्।

२३ क्रोमोजोमको ठाउँमा थप क्रोमोजोम हुने भएकाले यसलाई ‘ट्राइजोमी क्रोमोजोम’ पनि भनिन्छ। यो वंशानुगत रोग पनि हो। परिवार कसैलाई भएको भए नयाँ बच्चामा पनि हुने सम्भावना हुन्छ।

डाउन सिन्ड्रोम कसरी हुन्छ ?

डाउन सिन्ड्रोम हुनुमा असामान्य खालको क्रोमोजोम र वंशानुगत कारण हुन सक्छन्। बच्चामा डाउन सिन्ड्रोम हुनुको प्रमुख कारण गर्भवती महिलाको उमेर नै हो। बढी उमेरका महिला गर्भवती हुँदा बच्चामा डाउन सिन्ड्रोम हुने सम्भावना बढी हुन्छ।

ढिला बिहे गर्ने अनि ढिलो बच्चा जन्माउँदा यस्तो खतरा हुन्छ। सामान्यतः महिलाले ३० वर्षअघि नै बच्चा जन्माइसक्नु राम्रो हो। अहिले मानिसहरू करियरका कारण ३४ देखि ३८ सम्म बच्चा जन्माउँछन्। ढिला बच्चा पाउने क्रम बढेसँगै डाउन सिन्ड्रोम भएका बच्चा जन्मिने सुरू भएको छ। बढ्दो उमेरमा गर्भवती हुनु नै यसको प्रमुख कारण हो।

एउटा निश्चित उमेरपछि महिलाको डिम्वासयमा अण्डाहरू कम हुँदै जान्छ। ३० वर्षसम्म गर्भवती भएका महिलाबाट जन्मिएका बच्चामा डाउन सिन्ड्रोमको सम्भावना कम हुन्छ।