पाकिस्तानको गोलीले उडायो जसको सपना
बुटवल–पाल्पाको रामपुर नगरपालिका–४, सदावर्त गाउँका २१ वर्षीय गमिलकुमार श्रेष्ठको भारत प्रशासित कश्मीरमा पाकिस्तानले गरेको गोलीबारीमा मृत्यु भएको छ । उनले आफू मारिनुभन्दा ९ दिन अगाडि घरमा फोन गरेर भनेका थिए, ‘बल्ल आज फोन लाग्ने ठाउँमा आएर फोन गर्दैछु । केही आत्तिनुभएको होला, त्यहाँ तपाईंहरुले सुनेजस्तो अवस्था छैन ।’
परिवारका सदस्यलाई उनले पिर नगर्नु भनेर सान्त्वना दिए । दुर्भाग्य, त्यसरी सान्त्वना दिएर फोन गरेको १० औँ दिन बिहान छोराको ज्यान गएको दुःखद् खबर बाबुआमाले सुने । रामपुर नगरपालिकाकी उपमेयर बिष्णुदेवी आचार्यले भनिन् ‘गमिल श्रेष्ठ सतवर्त गाउँका रुद्रनारायण श्रेष्ठका कान्छा छोरा थिए । स्थानीय सीताराम माध्यामिक विद्यालयमा कक्षा १२ सम्म पढेपछि आर्थिक अभावका कारण गमिल जागिर खोज्दै भौँतारिएका थिए ।’
स्वदेशमा कतै जागिर नपाइरहेकै बेला उनले भारतीय सेनामा भर्ती भई तालिम सकेर उनीसहितको टोलीलाई जम्मु कश्मीर पठाइएको थियोे ।
उनले गएको चैते दसैँमा आएर पञ्चवली भाकल चढाएर वैशाख महिनामा हाजिर हुन पगेका थिए । उनले यसपालिको दसैँमा घरमा फोन सम्पर्कमात्रै गरेर अर्को सालको दसैँ मान्न आउने आश्वासन उनले दिएका थिए । तर त्यो चैते दसैँ नै उनको जीवनको अन्तिम दसैँ बन्न पुग्यो ।
उनका बाबु रुद्रनारायण श्रेष्ठ घरको आर्थिक अवस्था कमजोर भएपछि ऋण काढेर वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका थिए । छोराहरुको पठनपाठन र पालनपोषणका लागि उनले १० वर्ष त्यहीँ बिताए । उमेर ढल्किएसँगै स्वास्थ्यले साथ नदिएपछि उनी तीन बर्ष अघि घर फर्केका रुद्रनारायणसँग आम्दानीको कुनै बाटो थिएन । साउदी अरबमा रहँदा कमाएको पैसाले उनले घर बनाएका थिए । त्यही क्रममा जेठा छोरा गणेश श्रेष्ठ विदेशिए । बाबुआमालाई घर खर्चमा सहायता गर्न उनी वैदेशिक रोजगारीका लागि गत वर्ष दुबई पुगेका थिए । तर,आफू विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसक्ने गरी उनी एक वर्ष मै घर फर्किए
त्यो परिवारमा अब एकमात्र आशा भरोसाका केन्द्र भनेकै उनै लाहुरे छोरा गमिल थिए । उनले वैदेशिक रोजगार पीडित दाजु र बाबुलाई केही पिर नगर्नुस् भन्दै बेलाबेलामा पैसा पनि पठाउँदै आएका थिए ।गमिल असाध्यै अनुशासित, स्वभाव पनि राम्रो भएको युवा थिए । स्कुलमा पढ्दा धेरै पटक खेलकुदबाट पुरस्कार जित्थेँ । उनी त्यस्तो घटनामा परेको खबरले रामपुरवासी शोकाकुल भएका छन् ।
चैते दसैँमा घर आउँदा गमिललाई विवाहका लागि प्रस्ताव गरिएको पनि आचार्यले स्मरण गरिन् । ‘दुई वर्षपछि गरौँला भनेर उनले टारेका थिए । उपमेयर आचार्यका अनुसार गमिलको शव बुझ्नका लागि उनका बाबु, दाजुलगायतका आफन्तहरु दिल्ली पुगेका छन् ।
घरमा शव ल्याउन पाइने हो कि होइन भन्ने अन्योल छ । ‘मलाई लाग्छ यता शव ल्याउन दिँदैनन् होला,’ उपमेयर आचार्यले भनिन्, ‘उतै दाहसंस्कार गरेर परिवारजन फर्किने होलान् ।’ गमिलका बृद्ध हजुरबुवा, हजुरआमा, आमा र भाउजु शोकमा रुँदारुँदै बेला बेलामा बेहोस हुँदै जाग्दै गरेको स्थानीयले बताए । गमिलसहित गत शनिबार राति पाकिस्तानी सेनासँगको भिडन्तमा तीन जना भारतीय सैनिक मारिएका थिए । तीमध्ये अर्का एक सैनिक नेपाली मूलका पदमबहादुर श्रेष्ठ थिए ।