प्रेरक प्रसंग : भीष्मको प्रतिज्ञाले नडराएका अर्जुन
भीष्मले प्रतिज्ञा गरे– ‘भरसक भोली मेरो हातबाट अर्जुन उम्किँदैनन् ।’
भीष्मको बोली व्यर्थ हुँदैनथ्यो । यो कुराले कौरव पक्षमा खुसी र पाण्डव पक्षमा हाहाकार मचियो । बेलुकी पाण्डवपक्षका वीरहरु एकत्रित भएर सरसल्लाह गर्न लागे । स्वयम् भगवान् श्रीकृष्ण पनि चिन्तित हुनुभयो । त अर्जुन चाहिँ सम्साँझैदेखि बेपत्ता थिए । उनको खोजी हुन थाल्यो ।
सबै जना अर्जुनलाई खोज्दै उनको कोठामा जादाँ त अर्जुन मस्त सुतिरहेका रहेछन् । सबैलाई आश्चर्य लाग्यो ।
भगवान् श्रीकृष्णले भन्नुभयो– ‘अर्जुन, भोली तिमीलाई मार्छु भनेर भीष्मले प्रतीज्ञा गर्नुभएको छ । फेरि तिमी कसरी निश्चिनत भएर यसरी सकेको ?’
अर्जुनले भने– ‘भगवान्, जब मेरोबारे चिन्ता गर्दै हजुर स्वयम् जागा हुनुहुन्छ भने मैले केको चिन्ता गर्नु, म त हजुरको भरोसामा निश्तिन्त छु । बरु मेरो निद्रा नखल्बल्याइदिनुहोस्, मलाई भोली बिहानैदेखि युद्धमा जानु छ ।’ यसो भन्दै अर्जुन फेरि निदाइहाले ।