भिआइपी जुवा काण्ड : जुवाडेहरुलाई बैंकको २ अर्ब ऋण

सोमबार, ११ कार्तिक २०७६

काठमाडौं – भिआइपी जुवाडेहरुलाई नेपाल इन्भेष्टमेन्ट बैंकले दुई अर्व भन्दा बडि ऋण दिएको पाइएको छ । जुवाको खालबाट आइतबार २ करोड ७० लाख सहित पक्राउ परेका गुण्डा नाईके बलराम सापकोटा ‘बले’ र अर्का ब्यापारी पवित्रकुमार कार्कीलाई इन्भेष्टमेण्ट बैंकले २ अर्ब भन्दा बढी ऋण दिएको पाइएको छ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डेले ‘हाईप्रोफाईल’ जुवाडेद्वयलाई प्रभावमा परेर कर्जा दिएको प्रहरीले जनाएको छ । सापकोटा र कार्कीले मोरङ्गको धुलावारीमा होटल मेची क्राउन बनाउँदै छन् । ७ बिगाह क्षेत्रफलमा फैलिएको उक्त होटलका लागि बैंकले ऋण दिएको प्रहरी निकट श्रोतको भनाई छ ।

आइतबार काठमाडौँको महाराजगञ्जस्थित साम्बला होटल पछाडिको एक निजी घरमा जुवा खालमा प्रहरीको छापा मार्दा २५ जना ‘हाइप्रोफाइल’जुवाडेहरु पक्राउ परेका थिए । सापकोटाले जुवाखेल्न जानुअघि इन्द्रेणी फुडल्याण्डमा बैठक बसेर डेढ करोड रुपैयाँ झोलामा राखि हिँडेको पत्ता लागेको छ ।

यसरी जुवाका लागि करोडौं खर्च गर्नेहरु व्यक्तिहरुको सम्पत्ती छानविन गर्नुपर्ने सम्पत्ती शुद्धीकरण अनुसन्धान विभागले भने कानमा तेल हालेर बसेको छ । जुवाडेहरुबीच ‘क्यासिनो किङ’का रुपमा चिनिने बले काभ्रेको रोशी गाउँपालिका, बाल्टिङ स्थायी बासिन्दा हुन् ।

केही समय पहिलासम्म अन्नपूर्ण होटलमा भाँडा माझ्ने काम गरेका उनी वेटर हुँदै सोही होटलस्थित अन्ना क्यासिनोमा बाउन्सरको रुपमा काम गर्थे । ‘बले’ पछिल्ला दिनमा आफैँ जुवा खेलाउने काममा संलग्न हुन थालेका थिए ।

त्यही क्रममा उनले जुवामा लगानी गर्ने तथा मोटो ब्याज असुल्ने गर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् । जुवाडेहरुका लागि उनले ‘मिटर ब्याज’मा लगानी गर्ने गरेको बताइन्छ । काभ्रेमा नेपाली कांग्रेसको जिल्ला कोषाध्यक्षका लागि उम्मेदवारी दिएका उनी कृष्णगोपाल भैलसँग पराजित भएका थिए ।

उनी कांग्रेसका सभापति शेरबहादुर देउवासँगसमेत निकट सम्बन्ध राख्न सफल भएका थिए । पछिल्लो समय नेपाली राजनीतिमा नेकपाको प्रभाव बढेपछि उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बा’ भन्दै पार्टीका अन्य नेताहरुसँग समेत निकट सम्बन्ध राख्न सफल भएका थिए । जुवा धन्दा फस्टाउँदै गएपछि उनी रातारात करोडपति बनेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

प्रहरी र ठुला राजनीतिक दलका नेताको नाम भजाउँदै फाइदा उठाउने बलेले काभ्रे नै घर भएका कारण सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको समेत नाम भजाउने गरेका छन् । उनले मन्त्री बाँस्कोटाले ‘आफूले जे भन्यो त्यही मान्छन्’ भन्दै अरुलाई धाक लगाउने गरेका छन् ।

त्यस्तै, ‘पाँच तारे’ होटल ‘मेची क्राउन’ मा बलेको पार्टनर बनेका कार्की हेलिकोप्टर व्यापारी हुन् । एयर डाइनेस्टीका प्रबन्ध निर्देशक रहेका उनी बलेलाई आर्थिक सहयोग गर्ने र हरेक काममा ब्याकअप दिने व्यक्तिका रुपमा चिनिन्छन् ।

ठूला नेता र व्यापारीलाई समेत रिझाउन खप्पिस बले गुण्डागर्दीमार्फत नै क्यासिनो क्षेत्रमा साम्राज्य खडा गर्ने कसरतमा रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।