महराको पक्षमा बहस गर्दै २० जना वकिल
काठमाडौं– करणी उद्योगको मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा बहस गर्न करिब २० जना वकिलहरुलाइ वकालतनामा पेश गरेका छन् । महराको पक्षमा बहस गर्न पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठको नेतृत्वमा ती अधिवक्ताहरुले रूची देखाएका हुन् ।
आइतबार हुन लागेको थुनछेक बहसमा महराको पक्षबाट बहस गर्न वरिष्ठ अधिवक्ता तथा पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, वरिष्ठ अधिवक्ता तथा नेपाल बारका पूर्व अध्यक्ष शेर बहादुर केसी तथा वरिष्ठ अधिवक्ताहरु लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता भण्डारी बराल रहेका छन् ।
त्यसैगरी महराको पक्षबाट बहस गर्न अधिवक्ताहरु मनिषकुमार श्रेष्ठ, मुरारीप्रसाद सापकोटा, रामकुमार आचार्य, नरेश खड्का, चन्द्र प्रसाद गुरागाई लगायत करिब २० जनाले वकालतनामा रुची देखाएका छन् । यद्यपि, वकालतनामा पेश भएको सबै अधिवक्ताले बहस नगर्न पनि सक्छन् भने पछि वकालतनामा थप गरेर बहस गर्न पनि सकिने जिल्ला अदालत काठमाडौँका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले बताएका छन् ।
यता वादी नेपाल सरकारको तर्फबाट ४ जनाले बहस गर्नेछन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता चन्द्रकान्त खनालका अनुसार नेपाल सरकारको तर्फबाट सह न्यायाधिवक्ता चन्द्रकान्त खनाल, जिल्ला न्यायाधिवक्ताद्वय उमाकान्त पौडेल र हरिप्रसाद रेग्मी तथा सहायक जिल्ला न्यायाधिवक्ता सिर्जना ढकालले बहस गर्नेछन् ।