प्रेरक प्रसंगः आफ्नै परमभक्तसगँ हारे भगवान श्रीकृष्ण

सोमबार, १८ कार्तिक २०७६

एउटा दर्जी थियो । उसलाई सबैले बिसे दर्जी भन्थे । ऊ भगवान श्रीकृष्णको परमभक्त थियो । ऊसँग भगवान पनि यति प्रसन्न हुनुहुन्थ्यो कि उसले जहिले चाह्यो त्यहिले भगवानले दर्शन दिनुहुन्थ्यो । कैयौंपटक भगवान ऊसँग ठट्टा पनि गर्नुहुन्थ्यो ।

एक दिन बिसे दर्जी राम्रो टोपी लगाएर बसेको थियो ।

भगवानले आएर ठट्टा गर्दै भन्नुभयो–‘ए बिसे तिमीले लगाएको टोपी मलाई बेच्छौं ?’

बिसेले पनि टट्टा गर्दै भन्यो–‘ तपाईसँग पैसा नै छैन के किन्नुहुन्छ र मेरो टोपी ?’

भगवानले भन्नुभयो–‘छ मसँग थुप्रो धन छ ।’

बिसेले सोध्यो के छ ?

भगवानले भन्नुभयो –‘ यो संसारमा भएका सबै धन मेरै हुन् त्यतिले तिम्रो टोपी आउँदैन र ?’

बिसेले भन्यो–‘जाबो संसारको धन लिएर मैले के गर्नु ?’

संसारको वैभवलाई तुच्छ सम्झिने बिसेतिर हेरेर भगवानले भन्नुभयो–‘ बिसे तिम्रो हृदयमा म बस्छु भनेरै मान्छेले तिम्रो आदर गरेका हुन् तर अब म सबैलाई भनिदिन्छु–बिसेले मेरो अनादर गर्यो ऊ मेरो भक्त हैन त्यसैले आजबाट कसैले पनि उसलाई आदर नगर्न ।’

भगवानले कुरा सुनेर बिसेले भन्यो–‘प्रभु हजुरले पनि मसँग घुर्की नलगाए हुन्छ । मैले पनि जानेको छु हजुरको मूल्य घटाउन । म पनि सबैलाई भनिदिन्छु– भगवान एकदम सस्ता छन् उनी सबैको हृदयमा बस्छन् उनलाई खोज्न कसैले कतै जानुपर्दैन । अनि तपाइँको पनि भाउ घट्छ ।’

यति भनेर भगवान अन्तध्र्यान हुनुभयो । बिसे पनि ध्यानमा तल्लिन भयो । यसकारण, इमानमा अडिग हुनेसँग देउता पनि हार्छन ।