चीनले पनि मिच्यो नेपालको सीमा

शुक्रबार, २२ कार्तिक २०७६

काठमाडौं– लिपुलेक र कालापानी दक्षिणी छिमेकी राष्ट्र भारतले आफ्नो नयाँ नक्साभित्र राखेको भनेर विरोध भइरहेका बेला उत्तरी छिमेकी राष्ट्र चीनले पनि नेपालको उत्तरी सिमाना मिचेको छ । छिमेकी राष्ट्र चीनले नेपालको चार उत्तरी जिल्लाको सीमामा रहेको ३६ हेक्टर भूभाग जमिन मिचेको सरकारी तथ्यंकमा उल्लेख छ । चीनले मिचेको भुभाग भने संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्ला रहेको छ ।

प्रतिवेदनमा भनिएको छ,चीनले नेपाल–चीन सीमासँगै जोडिएको तिब्बतमा विकास निर्माणको क्रमलाई यही गतिमा बढाउने हो भने नेपालले हजारौं हेक्टर जमिन गुमाउनसक्ने सम्भावना अत्याधिक छ । नेपाल चीन सीमानामा नेपाल तिर नदिको वहावले ठूला ठूला मैदान बनाइरहेको र ती मैदानहरू नदीले चीनतिर पारिदिएका र त्यही अनुसार चीनले उक्त जमिन आफ्नो भन्दै सीमाना सारेको अध्ययन टोलीको निष्कर्ष छ ।

चीनले नेपालको कुन ठाउँमा कति जमिन मिचे त ?

हुम्लाको भाँगदारे खोलामा ६ हेक्टर, कर्णालमा ४ हेक्टर, रसुवाको सन्जेन खोलामा २ हेक्टर, भुर्जुग खोलामा १ हेक्टर, लेम्दे खोलामा १ हेक्टर, जबमु खोला ३ हेक्टर, सिन्धुपाल्चोकको खराने खोलामा ७ हेक्टर, भोटेकोशीमा ४ हेक्टर, समजुँग खोलामा ३ हेक्टर, काम खोलामा २ हेक्टर र संखुवासभाको अरुण नदीमा ४ हेक्टर जमीन कब्जा गरेको विवरण मन्त्रालयले जारी गरेको छ ।

चीनसँग जोडिएको उत्तरी नेपालको पूर्वदेखि पश्चिमसम्म ४३ भन्ज्याङ–नाकाहरुले नेपाल–चीन सीमा नाकाको काम गरेको छ । तिब्बत स्वासित चीन क्षेत्रमा सडक सुविधा विस्तार हुँदै गएको सडकको सञ्जाल फिजिँदै आएकोले त्यहाँका नदी, खोला पनि नेपाल सीमाभित्र पस्दै आएकोले नेपालको भू–भाग तिब्बततर्फ गइरहेको कृषि मन्त्रालयको नापी शाखाले जनाएको छ ।

उत्तरी छिमेकी देश चीन र नेपालको सिमाना अध्ययन गरेको नापी शाखाको टोलीले सरकारलाई २०७२ साउन ५ गते प्रतिवेदन बुझाएको थियो । २५ जना नाप नक्सा गर्ने सरकारी टोलीले उक्त प्रतिवेदनमा चीनको ज्यादतीका बारेमा अन्य धेरै कुरा उल्लेख गरेपनि सरकार यस विषयमा मौन छ। अध्ययन टोलीका अनुसार त्यतीबेला उक्त मिचीएको सिमानाको अवलोकन गर्न जाँदा चिनीयाँ सुरक्षाकर्मीलेसमेत दुर्व्यवहार गर्ने कोशिस गरेका थिए।