प्रेरक प्रसंगः चराले शिकारीलाई दिएको सन्देश
काठमाडौं – एउटा शिकारी शिकारका लागि जंगलमा भौतारिरहेका थिए । उसले निकै मिहिनेतपछि एउटा चरा पक्रे । शिकारीको पासामा परेपछि चराले विचार गर्यो ।
भरसक जे गरेर भए पनि बाँच्न पाउनु ठुलो कुरा हो । त्यसपछि चराले शिकारीसँग भन्यो–‘हेर शिकारी म तिमीलाई दुईओटा ज्ञानका कुरा भन्छु यसलाई तिमीले कहिल्यै नभुल्नु ।’ शिकारीले हुन्छ भन्यो ।
चराले उपदेश दिँदै भन्यो–‘ पहिलो कुरा हो, अर्काले भनेको कुरामा सत्यतथ्य पत्ता नलगाई विश्वास गर्नुहुँदैन, दोस्रो गुमेको कुराको निम्ति शोक गर्नुहुँदैन ।’ अलिक पर पुगेपछि चराले भन्यो–‘ए शिकारी दाई मलाई तिमीले एकछिनका लागि छाडिदियौं भने म ऊ त्यो रुखको डालीमा बसेर तिमीलाई सुनको अण्डा दिन्छु । तिमी धनी हुनेछौं । अनि मलाई फेरि मार्नु ।’
शिकारीले चराको कुरा पत्यायो र हुन्छ भन्दै छाडिदिए । चराले भुर्र उडेर माथि गएर भन्यो–‘ ए मुर्ख ! कतै चराले सुनको अण्डा दिन्छ ? मैले अघि नै तिमीलाई भनेको हैन–अर्काले भनेको सत्यतथ्य पत्ता नलगाई विश्वास नगर्नु ।’
चराको कुरा सुनेर हातमा आएको चरा फुत्किएकोमा शिकारी शोक गर्न लाग्यो । चराले भन्यो–‘ मुर्ख मैले तिमीलाई अघि गुमेको कुराको निम्ति पनि शोक नगर्नु भनेको थिएँ । यति चाँडै बिर्सिसक्यौं तिमीले ?’
चराबाट पाएको शिक्षा सुनेर शिकारी शोक त्यागेर आफ्नो घरतिर लाग्यो । यसकारण, अर्काले भनेको कुरा पूर्ण रुपले विचार नगरी विश्वास नगर्नु, गुमेको कुराको लागि निम्ति शोक नगर्नु ।