घुसकाण्डमा फसेका प्रहरी इन्स्पेक्टरको अर्को धन्दा
काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र नेपाल प्रहरीबिचको विवाद चर्किएको छ । सिआईबीले तीन साता लगाएर आइतबार १८ वर्षदेखि फरार दुई अभियुक्तलाई पक्राउ गरेको थियो । हत्या गरेर फरार रहेका गोम लामा तामाङ र शुक लामा तामाङलाई सिआइविले पक्राउ गरेको हो । गोमलाई गागलफेदी तथा अर्कालाई मुलपानीबाट पक्राउ गरिएको थियो ।
२०५९ साल कात्तिक २७ गते उनीहरुले धादिङको दार्खामा परशुराम तामाङको हत्या गरेका थिए । त्यसयता फरार रहँदै आएका उनीहरुलाई पक्राउ गर्न करिब एक महिनादेखि सिआईबीको टोली साँखुमा खटिएको थियो । निकै दुःखपछि आइतबार अभियुक्तहरु फन्दामा परे । तर यसको जस लिनलाई साँखुका प्रहरी निरीक्षक (इन्सपेक्टर)ले आफूले पक्राउ गरेको भन्दै मिडियामा समाचार लेखाएर जस लिन खोजेपछि सिआइबि र प्रहरीबिचको सम्बन्ध चिसिएको छ ।
दुवैलाई पक्राउ गरेर कार्यालयमा मात्र के लगेका थिए सिआईबीका प्रहरीले समाचार पढे ‘महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षकद्वारा फरार अभियुक्त पक्राउ’। समाचार पढेर उनीहरु हाँसो थाप्न सकेनन् । साँखुका इन्सपेक्टर गोविन्द पन्थीले ती अभियुक्तहरुलाई आफूले पक्राउ गरेर सिआईबीमा बुझाइएको भन्दै मिडियामा प्रचार गरिसकेका थिए ।

‘प्रहरीका यस्ता पनि इन्सपेक्टर रहेछन्,’ सिआईबीका एक अधिकारी भन्छन्,‘एक महिना दुःख गरेर हामीले पक्राउ गर्यो, आफुले पक्राउ गरेको भनेर प्रचार गर्न लाज पनि नहुँदो रहेछ ।’ पक्राउ परिसकेपछि सिआईबीले स्थानीय प्रहरीलाई जानकारी मात्र दिएको थियो । तर, इन्सपेक्टर पन्थीले आफैंले पक्राउ गरेर बुझाएको भनेर समाचार लेखाएपछि सिआईबीमा यो विषयको निकै चर्चा भएको थियो । सिआईबीले निकालेको बिज्ञप्तीमा उनीहरुलाई पक्राउ गर्न साँखु प्रभागको सहयोग रहेको उल्लेख छैन । प्रहरीमा पछिल्लो समय काम गर्ने भन्दायसरी प्रचार गर्ने प्रहरीहरु बढ्दै गएका छन् । इन्सपेक्टर पन्थी पुल्चोक प्रभागमा हुँदा घुसकाण्डमा परेका प्रहरी अधिकृत हुन् ।
तर, दृष्टि अनलाइनमा यो समाचार प्रकाशित भएपछि इन्सपेक्टर पन्थीले अभियुक्तलाई सिआईबीले नभई साँखु प्रभागले नै पक्राउ गरेको दाबी गरेका छन् । पक्राउ गरेर बुझाएको पत्र समेत उनले सार्वजनिक गरेका छन् । तर, सिआईबीका अधिकारी भने साँखु प्रभाग अन्तर्गत पक्राउ परेकाले सिआईबीमा लैजान साँखु प्रभागको सहयोग लिइएको बताउँछन् । दृष्टि साप्ताहिकबाट
