मन्त्री फेर्दै प्रधानमन्त्री, को को बन्दैछन् नयाँ मन्त्री ? नामावलीसहित

मंगलबार, २६ कार्तिक २०७६

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली अर्को साता मन्त्री हेरफेर गर्ने भएका छन् । अर्का अध्यक्ष प्रचण्डको सहमतिमा प्रधानमन्त्रीले मन्त्रीमण्डल पुनर्गण्ठन गर्न लागेका हुन् ।

अहिले कम्तिमा ६ जना मन्त्रीलाई हटाएर केही प्रभावशाली नेताहरु सरकारमा सहभागी गराइने प्रधानमन्त्री निकट श्रोतको भनाई छ । यसपटकको स्थायी कमिटिका नेताहरुसुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेल र जनार्दन शर्मालाई मन्त्री बन्ने भएका छन् ।

उपसभामुख शिवमाया तुम्बाहम्फेलाई पनि मन्त्री बनाउने जानकारी प्रधानमन्त्रीले पार्टी नेताहरुलाई गराएका छन् । यसपटक मन्त्री बन्ने निश्चित भएका बसन्त नेम्वाङ पनि छन् । २०४८ सालदेखि नै पाँचथरबाट चुनाव जितेका नेम्वाङ पहिलोपटक मन्त्री बन्दैछन् ।

यी बाहेक छविलाल विश्वकर्मा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर यादव, प्रेमबहादुर आले, किसान श्रेष्ठ, यज्ञराज सुनुवार र पार्वत गुरुङ लगायतका नेताहरुमध्येबाट केही अनुहार मन्त्रिपरिषदमा सामेल हुने नेकपाको उच्च स्रोत बताउँछ । यी नामहरुमा छलफल चलिरहेको नेकपाका एक नेताले बताए ।

नेकपाका कतिपय नेताले भीम रावललाई पनि मन्त्री मन्त्रिपरिषदमा सामेल गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । शुरुमा रावललाई मन्त्री बनाउन चाहेका ओली रावलले लगातार सामाजिक सञ्जालबाट आफू र सरकार विरुद्ध विपक्षीलाई मसला दिने गरी प्रस्तुत भएको भन्दै असन्तुष्टि जनाएको बताइन्छ ।

जब कि रावलभन्दा कडा आलोचक भुसाललाई भने ओलीले मन्त्री बनाउन चाहेका छन् । केही महिनाअघि प्रधानमन्त्री निवासमै ओली र भुसालबीच लामो छलफल भएको थियो । त्यसयता भुसालको सम्बन्ध प्रधानमन्त्रीसँग सुध्रिएको छ ।

को–को हट्दैछन् ?

प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्दा कृषिमन्त्री चक्रपाणि खनाल, महिला वालवालिका तथा समाज कल्याण मन्त्री थममाया थापा, युवा खेलकुद मन्त्री जगत विश्वकर्मा, भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ र उद्योगमन्त्री मात्रिका यादवलाई विदा दिइने भएको छ ।

श्रममन्त्री गोकर्ण बिष्ट, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, वनमन्त्री शक्ति बस्नेत लगायतको सन्दर्भमा भने छलफल चलिरहेको छ । उपेन्द्र यादव सरकारबाट बाहिरिए भने दुई मन्त्रालयमा पनि नेकपाकै सांसदले मौका पाउनेछन् ।