आर्यन भन्छन ‘मेरो विकल्पमा धेरै भए पनि तर मेरा दर्शक घटेका छैनन्’

बुधबार, २७ कार्तिक २०७६

नेपाली चलचित्र क्षेत्रमा नायक आर्यन सिग्देलको आगमन यस्तो समयमा भयो, जुन समय चलचित्र क्षेत्रमा चकलेटी नायकहरुको बाहुल्यता थियो । चलचित्र क्षेत्रले चकलेटी अनुहारलाई नै विशेष स्थान दिइरहेको थियो । सोही समय चकलेटी अनुहारमा आर्यनले छुट्टै स्थान बनाए । उनको क्रेज लोभलाग्दो बन्यो ।

आर्यनलाई चर्चाको उत्कर्षमा पु¥याउने चलचित्र बन्यो, ‘मेरो एउटा साथी छ’ । सुदर्शन थापा निर्देशित उक्त चलचित्रले आर्यनलाई स्टारडमको ‘किङ’ बनायो । चलचित्रमा आर्यन चकलेटी लभर व्याईको भूमिकामा प्रस्तुत भएका थिए । जताततै आर्यनको लुक्स र अभिनयको चर्चा चल्यो ।

आर्यनलाई चर्चामा ल्याउने चलचित्र ‘मेरो एउटा साथी छ’को साहयक भूमिकामा नायक दयाहाङ राई देखिएका थिए । त्यो सयम दयाहाङलाई कसैले चिनेनन्, वास्ता पनि गरेनन् । आर्यन लभ स्टोरी चलचित्रमा राज गर्दै गए । उनको घरमा स्क्रिप्टको खात बढ्दै गयो । समय यसरी बद्लियो कि, आर्यनलाई चर्चा दिने चलचित्रमा ‘नोटिस’ नभएका दयाहाङ कै कारण आर्यनलाई फेरि एकपटक स्टारडमका लागि संघर्ष गर्नुपर्यो ।

निश्चल बस्नेत निर्देशित चलचित्र ‘लुट’बाट दयाहाङ राई मुख्य भूमिकामा देखिए । नेपाली चलचित्रको ट्रेन्ड चेन्ज गर्न सफल भएको यो चलचित्रबाट दयाहाङ राई पनि चम्किए । दयाहाङले त ‘हिरो’को परिभाषा नै बदलिदिए । हिरो हुनलाई सुन्दर र चकलेटी अनुहार हुनुपर्छ भन्ने मान्यता उनले तोडिदिए ।

यसको प्रत्यक्ष असर त्यसबेला राज गरिरहेका आर्यनलाई नै प¥यो । दयाहाङ, सौगात मल्ल, विपिन कार्की जस्ता कलाकारहरुको उदयले आर्यन छायामा परे । आफ्नो स्टारडम खोज्नको लागि आर्यनले पुनः संघर्ष सुरु गर्न बाध्य बनायो ।

थिएटरबाट जन्मिएका कलाकारहरुको दबदबा बढेपछि धेरै कलाकारहरु पाखा लागे । तर, आर्यनले चलचित्र क्षेत्र छोड्न सकेनन् । निरन्तर रुपमा चलचित्रमा काम गरिरहेका छन्, आर्यन ।
करिअर ठिकठाक चलिरहेकै थियो । आर्यन आफ्नो स्थान फर्काउन कसरत गरिरहेका थिए । सोही समय आर्यनलाई साथी–भाइको भनेर चलचित्रमा काम गर्नुपर्ने बाध्यता आइप¥यो । उनले साथीहरुको मन राख्नको लागि जस्तो पनि चलचित्रमा काम गरे । जसले गर्दा आर्यनका दर्शक भड्किए । आर्यनमाथिको भरोसा टुट्यो ।

पछिल्लो समय आर्यन चलचित्र छनोटमा गम्भिर छन् । स्क्रिप्ट र टिम चित्त नुबुझेसम्म चलचित्रमा काम गर्दैनन् । तर, आर्यनको ब्याडलक नै मान्नुपर्छ उनी अभिनित चलचित्रहरु सफल भइरहेका छैनन् । र पनि आर्यनले हरेश खाएका छैनन् । उनी दर्शकको मायामा नम्बर १ बन्ने दौडमा दौडिरहेका छन् ।

आर्यन अभिनित पछिल्लो चलचित्रहरु ‘रुद्रप्रिया, कायरा, हजार जुनीसम्म’ लगतार असफल भए । जुन चलचित्रले आर्यनको सुस्ताएको करिअरलाई उचाई दिन्छ भन्ने थियो सोही चलचित्रहरुले आर्यनलाई असफलताको ट्याग भिराइरहेका छन् ।

आर्यन आफ्नो चलचित्रको बजेट धेरै हुने भएकाले लगानी उठाउन गाह्रो हुने बताउँछन् । उनले भने–‘यो मेरो ब्याडलक नै भन्नुपर्छ, मैले जुन चलचित्रमा काम गर्छु त्यो चलचित्रको बजेट बढी हुन्छ । त्यसैले बक्स अफिसमा हिट हुन्न । नत्र त मेरो चलचित्रहरुको कमाई औसत हिट नै हुन्छ ।’ उनी आफूले गरेको क्यारेक्टरले पाउने प्रशंसाबाट भने खुसी छन् ।

त्यो चर्चा र अहिलेको अवस्था
०६६ सालको अन्त्यतिर रिलिज भएको थियो, ‘मेरो एउटा साथी छ’ । उक्त चलचित्रपश्चातको केही वर्ष त आर्यनमय थियो चलचित्र क्षेत्र । आर्यनलाई आफ्नो चलचित्रमा काम गराउनको लागि निर्माता निर्देशकको लाइन लाग्थ्यो ।

लभ स्टोरी चलचित्र निर्माण गर्नुपर्यो भने आर्यनको विकल्पमा कोही पनि थिएन । उनी भन्छन्–‘त्यो बेला कलाकारहरु एकदमै कम हुनुहुन्थ्यो । आर्यनको विकल्पमा कोही कलाकार थिएन । अझ भनौं, लभ स्टोरी चलचित्रको एक्लो कलाकार म थिएँ ।’ यसै कारणले पनि दर्शकमात्र होइन, चलचित्रकर्मीहरुमा पनि आर्यनको गज्जब क्रेज थियो ।

अहिले त्यो चर्चा कम भएको कुरालाई नकार्न सक्दैनन् आर्यन । नयाँ पुस्ताका कलाकारहरुको उपस्थितीले पनि चलचित्र क्षेत्रमा आफ्नो चर्चा कम भएको आर्यनको बुझाई छ । तर, दर्शकमा भने आफ्नो क्रेज घटेको कुरा आर्यनलाई स्विकार्य छैन् । ‘अहिले त धेरै कलाकारहरु जन्मिनु भएको छ । आर्यनको विकल्प धेरै हुनुहुन्छ । त्यसैले पनि यो क्षेत्रमा मेरो चर्चा कम हुनु स्वभाविक हो’, आर्यन भन्छन्, ‘तर, मेरो दर्शकको ग्राफ घटेको छ जस्तो मलाई लाग्दैन ।’

अहिले पनि आर्यनलाई चलचित्रको अफरहरु भने उत्तिकै आइरहेका छन् । तर, आर्यन हत्तारमा चलचित्र गर्ने मनस्थितीमा छैनन् । थोरै गर्ने राम्रो गर्ने आत्मनिर्णयमा उनी छन् । पहिला जति चलचित्र उनले छोड्ने गर्थे अहिले पनि उत्तिकै संख्यामा उनले चलचित्रको अफर नकारेका छन् ।

आर्यन आफ्नो कामबाट नम्बर १ बन्न चाहन्छन् । ‘मलाई धेरै पारिश्रमिक लिएर वा धेरै चलचित्र गरेर नम्बर १ बन्नु छैन’, आर्यनले भने, ‘मेरो कामबाट कसैको नाक नखुम्चियोस् । त्यसैमा म आफूलाई नम्बर १ ठान्छु ।’ यो दौड मनबाट हराए राम्रो काम गर्न नसकिने आर्यनको बुझाई छ ।

अब कमेडी चलचित्रमा आर्यन
आर्यन अहिले आफ्नो नयाँ चलचित्र ‘च च हुई’को प्रचारमा लागिरहेका छन् । कमेडी जनरामा बनेको यो चलचित्रमा आर्यनले मुख्य भूमिका निर्वाह गरेका छन् । लभर ब्वाईको रुपमा प्रस्तुत हुदै आएका आर्यन यो चलचित्रमा भने कमेडी भूमिकामा छन् । तर, कमेडी गर्ने बाहानामा आफ्नो धारलाई चट्टकै छोडेका भने छैनन् । यो चलचित्रमा पनि आर्यनलाई चकलेटी र लभर ब्वाईको रुपमा देख्न सकिन्छ । आर्यन भन्छन्, ‘कमेडी चलचित्र भनेर पूर्ण कमेडी पनि होइन । कमेडी जनरामा आधारित हो । तर, यो चलचित्रमा लभ, रोमान्सलाई पनि स्थान दिइएको छ ।’

आखिर कमेडी चलचित्रमा काम गर्न किन तयार भए त आर्यन ? चलचित्रको विषयबस्तु, कथा र टिम मनपरेपछि काम गर्न तयार भएको आर्यन बताउँछन् । ‘मैले रमपम कमेडी चलचित्रमा त काम गरिरहेको थिएँ । यसमा भने कमेडी बढी नै छ’, उनले भने, ‘स्क्रिप्ट र टिम निकै राम्रो लागेपछि काम गर्न तयार भएको हुँ ।’

फरकधारको चलचित्र निर्देशन गरिरहेका साम्तेन भुटियाले यो चलचित्रको निर्देशन गरेका छन् । भुटियाको काम गर्ने शौली र सोच आर्यनको आकर्षण बन्यो । आर्यन भन्छन्, ‘उहाले जुन किसिमले चलचित्रको विषय प्रष्ट्याउनु भयो म सोही बेला उत्साहित भएको थिएँ । उहाँले यो चलचित्रमा आफ्नो धारलाई पनि बिर्सनु भएको छैन । त्यसमा कमर्सियल जोड्नु भएको छ । जुन एकदमै उत्कृष्ट बनेको विश्वास छ ।’

चलचित्र निर्माणको कुरा
चलचित्र ‘कायरा’ आर्यनले निर्माण गरेको चलचित्र हो । यो चलचित्र रिलिज हुँदै गर्दा आर्यनले भनेका थिए, ‘प्रत्येक वर्ष म एउटा चलचित्र निर्माण गर्नेछु ।’  तर, अहिले आर्यन चलचित्र निर्माणको कुनै सुरसारमा छैनन् । राम्रो स्क्रिप्ट हात नपर्दा उनी चलचित्र निर्माण गर्ने आट गर्न सकेका छैनन् ।

उनी भन्छन्–‘कायरामा चलचित्रको फ्लो नबुझ्दिनाले हामी चिप्लियौँ । अब त झन् गम्भिर भएर काम गर्नुपर्ने हुन्छ । त्यसैले राम्रो स्क्रिप्टको खोजीमा छु ।’ कसैले राम्रो कथाको अफर गर्छ भने भोलीदेखि नै काम गर्ने आर्यन बताउँछन् ।

आर्यन आफैलार्ई चलचित्र लेख्ने वा निर्देशन गर्ने आँट भने आइसकेको छैन् । यो कुरामा निकै गम्भिरता चाहिन्छ । त्यो आर्यन आफूमा पाउँदैनन् । उनले भने, ‘लेख्ने काम हाम्रो होइन, यसका लागि धेरै विज्ञहरु चाहिन्छ । लेखेको कुरामा सुझाव दिन सकिन्छ तर, लेख्न सकिन्न ।’