विप्लवका दाई वीरजंङ्गको स्वास्थ्यमा समस्या, प्रहरीद्वारा अस्पताल लान आनाकानी
दाङ – नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् मध्यपश्चिम कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द (विरंजग)को स्वास्थ्यमा समस्या देखिएको छ । गत असोज ३० गते राति दाङ राजपुर गाउँपालिका मुङग्रेठामा पार्टीको राप्ती ब्युरोको बैठक स्थलबाट प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएका नेता चन्द अहिले जिल्ला प्रहरी कार्यलय दाङको हिरासतमा छन् ।
घाटी र छातीमा समस्या देखिएपछि नेता चन्दलाई अस्पताल लगिएको थियो, अस्पतालमा डाक्टरले भर्ना गर्नुपर्छ भनेपनि प्रहरीले मिल्दैन भनेर हिरासतमा फर्काएको परिवारिक स्रोतले बताएको छ । राप्ती ब्युरोको बैठक बसिरहेको स्थानबाट गिरफ्तार पार्टीका केन्द्रीय सदस्य एवम् मध्यपश्चिम कमाण्ड ईन्चार्ज चन्द्र बहादुर चन्द विरंजग लगायत २१ जना नेता कार्यकर्ता अहिले दाङ हिरासतमा संगठित अपराध र हातहतियार खरखजना मुद्दामा थुनामा छन् ।
थुनामा रहेका नेता कार्यकर्तालाई राज्यले न्युनतम मानवीय व्यवहार समेत नगरेको भन्दै चौतर्फी आलोचना समेत भईरहेको छ । यस्तै नेता चन्दका जेठा छोरा वियस चन्दसमेत स्वास्थमा समस्या देखिएपछि एक महिना यता काठमाडौं हस्पिटलमा उपाचार्थ छन् ।