प्रेरक प्रसंगः समृद्ध कसरी बन्ने

शुक्रबार, २९ कार्तिक २०७६

काठमाडौं– एकैचोटि एक निर्धन स्त्रीलाई आफ्नो गाएँ छाडेर नगरमा बस्नुपर्यौ । नयाँ घरमा आउँदा उनलाई निकै आश्चर्य लाग्यो किनभने त्यहाँ प्रकाशका लागि बिजुलीको चिम राखिएको थियो । उनले यसअघि कहिल्यै त्यसबारे देखेसुनेकी थिइनन् । गाउँको टुकीले भन्दा त्यसले धेरै गुणा प्रकाश दिइरहेको थियो । केही दिनपछि एक जना मानिस बिजुलीको ठूलो चिम बेच्दै त्यहाँ आए । साठी किलोवाटको चिम लगाएर उनले स्वीच दबाउँदा अत्यन्तै चम्किलो प्रकाश देखेर उनी आश्चर्यचकित भइन् । यस्तो सानो चिमबाट त्यति धेरै प्रकाश आउनु उनको लागि जादुमय चमत्कार थियो । मानौँ त्यहाँ सूर्य नै जगमगाइरहेको थियो । उनका लागि यसअघि सानो चिम जलाउने त्यहीँ विद्युतबाट यो अद्भूत सूर्यजस्तो प्रकाश  दिने चिम बलेको हो भनी सोच्नु पनि असम्भव थियो ।

हामी ती स्त्रीको अज्ञानतामाथि हास्दछौँ । तर यसमा अधिकांश आफ्नो शक्तिहरुबारे त्यति नै अन्जान छन् । जति ती स्त्री बिजुलीको शक्तिबारे अन्जान थिइन् । उनले जस्तै हामी पनि अपार शक्तिमध्ये सानो चिमको मात्र प्रयोग गरेर जीवनको अमूल्य दिन गुमाइदिन्छौं । हामीभित्र पनि त्यो सानो चिमभन्दा सय गुणा बढी शक्ति र प्रकाश लुकेको छ भन्ने हामी कहिल्यै सोच्दैनौँ । हामीभित्र योग्यता र शक्तिहरुको सागर लहराइरहेको र त्यसमा असंख्य रत्न लुकिरहेको भन्नेबारे हामी कल्पना पनि गर्दैनौं । केबल एक पटक उक्त सागरमा डुबुल्की लगाउन आवश्क छ, क्षणभरमै हामीले ‘समृद्धिको मोती’ भेटाउँछौं । हामी आफै आफ्नो सफलताको सीमा बाँध्छौं, आफै समृद्धिलाई लात हान्छौं, किनभने यस अपार सागरबाट हामी जीवनमा केही थोपा मात्रै लिन्छौं, त्यसैले जीवनको समृद्धि अधुरो रहन पुग्छ ।

ती महिलाले जस्तै थुप्रै मानिस आफ्नो अटुट शक्ति भण्डारको धेरै कम उपयोग  गर्दछन् । तिनीहरु ईश्वरले आफ्नो लागि त्यति मात्रै उपयोग निश्चित गरिदिएकाले आफूहरुले त्यति थोरै उपयोग गरिरहेको सोच्छन् । तिनीहरुले कमी बिजुलीको करेन्टमा नभई आफ्नो सानो चिममा छ भनी साच्दैनन् । हामीमध्ये अधिकांश व्यक्तिले सन्देह र अविश्वासको कारण आफ्नो शक्ति नष्ट गर्न पुग्छौं । निर्धनता भरिएको विचारका कारण हामी स्वयम् जीवनको सुखसमृद्धिबाट टाढिन्छौं । समृद्धिको प्रवाह सधैं प्रसन्न मनतर्फ बग्दछ । यसको बहाव कहिल्यै निराश र सन्देहशील मनतर्फ हुँदैन । त्यसैले हामीले सधैं  यसको स्वागतका लागि आफ्नो हृदयलाई प्रसन्न राख्नुपर्छ, किनभने चार वा आठ किलोवाटको चिम लगाएर हामीले साठी किलोवाट चिमको प्रकाशको आशा गर्न सक्दैनौं ।