स्वदेश र विदेशका पत्रकारहरु लुम्बिनीमा एकैसाथ

आइतबार, १ मंसिर २०७६

काठमाडौं– नेपालको लुम्बिनीमा स्वदेश तथा विदेशका पत्रकारहरु एकैसाथ भेला भएका छन् । नेपालमै पहिलोपटक हुन लागेको ‘न्युज फेस्टिबल’ आजबाट बुद्धजन्मस्थल रूपन्देहीको लुम्बिनीमा सुरु भएको छ । ‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने नाराका न्युज फेस्टिबल हुन लागेको हो ।

कार्यक्रममा नेपालका राष्ट्रियस्तरका पत्रिका, टेलिभिजन र अनलाइनका सम्पादकहरू तथा नेपालस्थित अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरूसहित ३ सय भन्दा बढी पत्रकारहरू सहभागी हुनेछन् । न्युज फेस्टिबलको उद्घाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतबार दिउँसो ३ बजे गर्ने तय भएको छ ।

मंसिर ३ गतेसम्म चल्ने न्युज फेस्टिबललाई रुपन्देहीको ब्राण्डका रुपमा स्थापित गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले बताए ।आयोजक लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरका अध्यक्ष दीपेश पछाईले फेस्टिबलमा बिभिन्न आठ शीर्षकमा प्यानल डिस्कसन हुने समेत बताए ।