भारतबाट मान्छे ल्याएर ध्वस्त बनाउने आलमको चेतावनी
काठमाडौं–बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौटहट २ का कांग्रेस सांसद मोहम्मद अफताव आलमले पक्राउका क्रममा प्रहरीसँग नै ‘मान्छे मार्ने’ धम्की दिएका छन् ।
पक्राउको क्रममा उनले यस्तो धम्की दिएका हुन् । २ मिनेट २४ सेकेण्ड लामो भिडियोमा उनले भारतबाट मान्छे ल्याएर रौतहटमा आगो लगाउने धम्की दिएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ ।
आलमः तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?
प्रहरीः कहाँ हामीले ठट्टा ठानेका छौँ हजुर ? माननीयज्यूलाई हामी सम्मान गर्छौं। जयनेपाल, नमस्कार भनेका छौँ।
आलमः (गाडीमा हात बजार्दै) हँ‘ यो जिल्लामा आग (आगो) लाग्छ, आग।
प्रहरीः शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईंको पनि जिम्मेबारी हो नि।
आलमः यो जिल्लामा आग लाग्छ। तपाईं हेर्दै जानुस्। भारतबाट मानिस‘। (उनी आफ्नो मोवाइल फोन हेर्छन्)
प्रहरीः त्यसो भन्न मिल्दैन हजुर।
आलमः मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ। म तपाईंको के हो ? म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा ’छ तपाईंहरुले।
प्रहरीः हैन माननीयज्यू।
आलमः अब जिल्लाभर अशान्ति हुन्छ, आगो लाग्छ।