विद्यार्थी नेता शाह लेख्छन्, ‘देशको वर्तमान चित्र, विद्यार्थी आन्दोलन र आगामी दिशा’

शुक्रबार, ६ मंसिर २०७६

काठमाडौं – देश यतिबेला असाध्यै चुनौतीपूर्ण ढङ्ग बाट अगाडी बढिरहेको छ । त्यसको अनुभुति आम नागरिकले गरिरहेका छ्न । सरकार र सत्तामा भएकाहरुले जेसुकै कुराको भाषणबाजी गरेपनी आम नागरिकको जीवन कष्टप्रद छ र सहज जीवनयापन गर्न असम्भव भएको छ । देशको वर्तमान चित्र हेर्दा मृत्यु शैय्यामा छटपटाई रहेको आभाष भैरहेको छ ।

चर्को कर, बढ्दो महङ्गी, सामाजिक असुरक्षा, बेरोजगारी, विभिन्न खाले उत्पीडिनहरुले आम नागरिक आक्रान्त छ्न् । भ्रष्टाचार संस्थागत भएको छ हरेक सरकारी र जनप्रतिनिधिहरु भएका अड्डाहरुमा त लुटै मच्चिएको छ । बलात्कार , हत्याहिंसाका घटनाहरु बढदोक्रममा छ्न र पीडितले न्याय पाउन पनि सहज छैन । किनकी जताततै विकृत राजनीति जेलिएको छ । मानवाधिकार हननका घटनाहरु तिव्र रुपमा बढेका छ्न, जसमा राज्य आफै संलग्न छ ।

देशको अर्थतन्त्र धरासयी बनेको छ र देश विदेशी उपभोग्य वस्तु विक्री गर्ने बजारको रुपमा परिणत भएको छ । देशको शिक्षा क्षेत्र बेरोजगार उत्पादन गर्ने कारखाना बनेको छ । युवाहरुको बाध्यात्मक विदेश पलायन भनी साध्यै छैन । देशको राजनीतिको कुरा गर्ने हो भने असाध्यै घिनलाग्दो र जनताको आशा भरोसा नै उठिसकेको छ । सरकार र सत्तामा भएकाहरुले देशमा लोकतन्त्र र गणतन्त्र आएको कुरा, संविधान बनेको कुरा, शान्ति, स्थिरता र समृद्धिको कुरा गरि थाक्दैनन् तर जनताको जीवनमा कुनै पनि परिवर्तन आएको छैन । देशको यो वर्तमान चित्र हो, सायद विद्यार्थी आन्दोलनको सन्दर्भमा बहस केन्द्रित गर्दा देशको वर्तमान चित्रको सार बुझ्न पनि आवश्यक छ ।

जस्तोसुकै कठिन र चुनौतीपूर्ण अवस्था आएपनि के हामीले हाम्रो देशलाई विर्सिन मिल्छ त ? के हामी लाखौं युवाविद्यार्थीहरुको भविष्य अँध्यारो तिर गएको टुलुटुलु हेरर बस्न मिल्छ त ? पटकै मिल्दैन र त्यसको जबाफ दिन हामी तयार हुनुपर्छ । नयाँ बहस र दिशामा विद्यार्थी आन्दोलन पनि अगाडी बढाउन पर्छ, निर्विकल्प ।

ईतिहास लाई फर्केर हेर्दा संसारका हरेक परिवर्तन र आन्दोलनहरु विद्यार्थीहरुको भुमिका अग्रभागमा रहेको छ । नेपालको हकमा पनि सबैखाले सामाजिक रुपान्तरण र परिवर्तनका आन्दोलनहरुमा विद्यार्थीहरु भुमिका गौरवपुर्ण नै छ । वर्तमान सन्दर्भमा विद्यार्थी आन्दोलनको विश्लेषण गर्दा अन्तर्राष्ट्रिय रुपमा पनि राष्ट्रिय रुपमा पनि विद्यार्थी आन्दोलनले नयाँ दिशा पक्रिन नसकेको कुरा देखिन्छ र त्यो फेरि समग्र विषय नयाँ दृष्टिकोण, विचार र दर्शनको विकास र उत्पत्तिसँग जोडिन पुग्छ ।

स्टेफिन हकिङसले भन्नू भए जस्तै विज्ञानको विकास जुन गतिमा अगाडी बढयो, त्यो गतिमा दर्शनको विकास हुन सकेन जसले गर्दा समाजलाई नेतृत्व प्रदान गर्न सक्ने नयाँ दर्शनको अभावले सामाजिक रुपान्तरण र आन्दोलनका प्रक्रियाहरुबीच बाटोमै अल्मलिएका र अल्झिएका जस्तै छन । त्यसकै एउटा सानो अंश युवाविद्यार्थी आन्दोलन पनि हो । अन्तर्राष्ट्रिय क्षेत्रमा हेर्दा ठुला ठुला विद्यार्थी आन्दोलनहरु हुन सकेका छैनन र त्यहाँ दलाल पुजीवादी व्यवस्थाले आन्दोलनलाई नै विभाजित गरिदिएको छ । सत्ता र सरकारबाट टाढा रहेका केही कम्युनिस्ट विचारधारा निकट क्रान्तिकारी विद्यार्थी सङ्गठन र अन्य प्रतिपक्षी, सुधारवादी धाराहरु निकट विद्यार्थी सङ्गठनहरुका सामान्य गतिविधिहरु मात्रै छन, समग्र प्रभावमा छैनन र फेरि त्यो विषय त्यहाँको वर्तमान कम्युनिस्ट आन्दोलनको प्रभावसँग प्रत्यक्ष जोडिने कुरा पनि हो ।

नेपाल विद्यार्थी आन्दोलनको सन्दर्भ हेर्दा नयाँ गति पक्रिन सकेको देखिन्न र विद्यार्थी आन्दोलन पनि विभिन्न भागमा विभाजित भएको छ । सत्ता र सरकारसँग जोडिएकाहरु नेता, नेतृत्वको गुलामी र सरकारको बचाउमै ठिक्क छन । संसदमा प्रतिपक्षी भनिएका दलसँग जोडिएकाहरु आफ्नै रोईलोमा र साङ्गठनिक समस्याको जालोमा बेरिएका छ्न ।

यस्तो जटिल परिवेशमा क्रान्तिकारी आन्दोलन र विद्रोहसँग जोडिएकाहरुले उठाएको विद्यार्थी संघर्षले विद्यार्थीहरुको हक र अधिकारका लागि आन्दोलन जारी रहेको अनुभुति त सबैले गरेका छ्न् तर त्यति ले मात्रै पुग्छ त ? नेपालका लाखौं विद्यार्थीहरु नेतृत्व गर्ने प्रश्नको हल भेटिन्छ त ? त्यसको लागि सबै सिमा समस्या र कमजोरीहरुको समीक्षा सहित विद्यार्थी आन्दोलनलाई अगाडी बढाउन जरुरी देखिन्छ ।

देशको शिक्षा क्षेत्रको सन्दर्भमा कुरा गर्दा विभिन्न समस्याहरुले जकडिएको छ । शिक्षा क्षेत्र निजीकरण, व्यापारिकरण तिर अगाडि बढेको छ र त्यसमा राज्य संचालन तहमा रहेकाहरु शिक्षाको दलालीकरणमा र कमिशन खानमा लागेका छन । सरकारी शिक्षा हेर्ने हो भने विद्यालयहरुको अवस्था दयनिय बनेको छ अभिवावकलाई निजि विद्यालयमा भर्ना गर्न बाध्यात्मक परिस्थिति सिर्जना गरिएको छ । सरकारी विद्यालयका शिक्षकहरूकै लगानिमा निजि विद्यालयहरु खोलिएका छ्न । शिक्षाको गुणस्तर पनि एकदम कमजोर रहेको छ ।

प्राविधिक तहको उच्च शिक्षा त असम्भव नै छ । आधारभुत तहको शिक्षा हेर्ने हो भने पनि सहजै मजदुर, किसानका छोराछोरीहरु पढन पाउने अवस्था छैन । विद्यार्थीको पढने चाहना ईच्छा हुदाहुदै पनि बिचमै पढाई छोडेर विदेशीन बाध्य छ्न । विश्वविद्यालय क्षेत्र चुर्लुम्म राजनीतिक हस्तक्षेप र भागबन्डामा डुबेको छ त्यहाँ योग्यता र क्षमताको कदर हुदैन । शिक्षा क्षेत्रमा भ्रष्टाचारलाई हेर्ने हो भने सिटिईभिटीलाई दोस्रो भन्सारको नाम दिईएको छ, मेडिकल शिक्षामा दलालिकरण र माफियाकरणले हद नागेको छ, विश्वविद्यालयबाट सम्बन्धन दिनका लागि करोडौं रकमको चलखेल हुन्छ ।

राज्यद्वारा शिक्षा क्षेत्रको पुर्वाधार निर्माणका लागि छुट्टाईएको बजेट रकममा झन्डै चालीस प्रतिशतसम्म भ्रष्टाचार हुन्छ । शिक्षा क्षेत्रको वर्तमान चित्र सारमा यहि नै हो । शिक्षा क्षेत्रको अवस्था यस्तो दयनिय हुँदा पनि किन विद्यार्थी आन्दोलनले गति लिन सकिरहेको छैन ? यो विषयको गम्भिर्यतालाई बुझ्न र हल खोज्न आवश्यक छ । नेपालको घिनलाग्दो फोहरी राजनीति र यसको प्रभावले नयाँ पुस्ताका युवाविद्यार्थीहरुमा राजनीति प्रती तिव्र वितृष्णा, निराशा जागेको छ । जसको फलस्वरूप अहिले हामी हेर्छौ क्याम्पस र विश्वविद्यालयहरुमा विद्यार्थी आन्दोलन र सङ्गठनमा सहजै नयाँ पुस्ता जोडिरहेको छैन ।

नेपाल युवा विद्यार्थीहरुलाई मनोवैज्ञानिक रुपमा कमजोर पारिएको छ । जति पढेपनि जानू पर्ने विदेश नै हो, नेपालमा कै गर्न सकिन्न र आन्दोलनमा लाग्नु भनेको जीवन वर्वाद पार्नु मात्रै हो भन्ने बुझाई निर्माण भएको छ । के आन्दोलनमा नयाँ जीवन खोज्न सकिन्न त ? के आन्दोलनबाट नयाँ पुस्ताका लागि सुनौलो बाटो निर्माण गर्न सकिन्न त ? के अब निराश भएका युवाविद्यार्थीहरुमा आशा जगाउन सकिन्न त ? सकिन्छ अवश्य पनि !

विद्यार्थी आन्दोलनमा यी समस्याहरु हल खोज्दा आगामी दिशाको बारे बहस केन्द्रित गर्दा पहिलो कुरा नेपालको विकृत र भ्रष्ट राजनीतिबाट विद्यार्थी नेताहरु बच्न जरुरी छ र लाखौं विद्यार्थी र आमजनताका अगाडी नयाँ राजनीति संस्कार र चरित्र युवाविद्यार्थी नेताहरुले प्रस्तुत गर्न जरुरी छ । राजनीति र आन्दोलन भित्र रहेका सबैखाले गलत प्रवृतीहरु र कामहरु भन्डाफोर गर्न जरुरी छ । विद्यार्थी आन्दोलनमा एउटा नयाँ बहसको सिर्जना गर्दै शैक्षिक मुद्दाहरुमा केन्द्रित आन्दोलनको जबर्जस्त उठान गर्न आवश्यक छ । विद्यार्थी आन्दोलनका नेताहरूले नयाँ खोज र अनुसन्धान प्रक्रिया जुटन जरुरी छ, जसले राजनीतिलाई पनि सङ्ग्लो बनाओस, जसबाट सामाजिक सास्कृतिक र आर्थिक रुपान्तरणको आन्दोलनलाई पनि सहयोग होस । यी आधारभुत विषयहरुसँगै क्रान्तिकारी विद्यार्थी सङ्गठनहरुको संयुक्त मोर्चा, अन्य प्रतिपक्षी सङ्गठनहरुसँग पनि आवश्यक सहकार्यबाट आन्दोलन अगाडी बढाउन सकिन्छ ।

शैक्षिक अधिकारका मुद्दाहरुमा नेपालका सडकहरुमा लाखौं विद्यार्थी उतारेर राज्यलाई माग सम्बोधनका लागि बाध्यात्मक अवस्था सिर्जना गर्न सकिन्छ । राज्यले देश, जनता र आमनागरिकको अहितमा गरेका निर्णयहरुका विरुद्धमा सबैभन्दा पहिला विद्यार्थीहरु सडकमा ओर्लिनु पर्छ। अर्को विषय अहिलेको परिवेशमा अन्तर्राष्ट्रिय स्तरमा पनि अन्य देश युवा विद्यार्थीहरुसँग पनि छलफल र बहस गर्नुपर्छ र मिल्ने विषयवस्तुहरुमा विभिन्न देशहरुमा पनि संयुक्त विद्यार्थी आन्दोलनको विकास पनि गर्नु पर्छ ।

अन्त्यमा , देश संकटमा छ र देशलाई हाम्रो खाचो छ । त्यसैले जस्तोसुकै कठिनाइको घडी आएपनी युवाविद्यार्थीहरु निराश हुन मिल्दैन, आफ्नो मनोबल कमजोर बनाउनु हुदैन र आवश्यक परेको बेला आन्दोलनको नेतृत्व र राजनीतिको जिम्मा लिने तहमा पुग्नु पर्छ । हामीले बिग्रेको र भत्केको कुरा छरपष्ट छोडी दियौं भने आउदो पुस्ताको भविष्य झनै अध्यारो तिर धकेलिनेछ । समाजको सामाजिक, आर्थिक र सास्कृतिक रुपान्तरणमा हामिले हाम्रो तहबाट योगदान गर्नै पर्छ तब मात्रै सार्थक विद्यार्थी आन्दोलनको अर्थ र महत्त्व रहन जान्छ ।