लागूऔषध एम्फेटामाइन डिलरका मालिक पक्राउ

सोमबार, १६ मंसिर २०७६

काठमाडौं– लागूऔषध एम्फेटामाइन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८ सय ८१ ट्याबलेटसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले गोरखा घर भई काठमाडौं बस्दै आएका ओडगेन लामालाई पक्राउ गरेको हो । उनलाई आइतबार अपराह्न काठमाडौंको धुम्वाराहीस्थित सडक किनारबाट लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट लागूऔषध एम्फेटामाईन (आईस) २९ ग्राम, कोकिन ४ ग्राम र यावा ९९ ट्याबलेटसहित पक्राउ गरी अनुसन्धानपछि लामाको कोठामा समेत खानतलासी गर्दा निजले लुकाई राखेको लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २ सय ग्राम, कोकिन ८६ ग्राम र यावा ७ सय १२ ट्याबलेट गरी कुल जम्मा लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २ सय २९ ग्राम, कोकिन ९० ग्राम र यावा ८ सय ८१ ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामा यसअघि पनि २०६२ असोज ७ गते ५६ किलो ४ सय ग्राम लागूऔषध चरेससहित पक्राउ परेका थिए । ब्युरोले उनीविरुद्ध मुद्दा दर्ता गरी कारबाही गर्दा उनले २ वर्ष ६ महिना कैद भुक्तान गरेका थिए ।