१३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको २३ स्वर्ण

बुधबार, १८ मंसिर २०७६

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेक्वान्दोबाट स्वर्ण जित्ने क्रम जारी छ । तेक्वान्दो प्रतिस्पर्धाको दोस्रो दिन दोस्रो स्वर्ण जित्ने क्रममा वीरबहादुर महराले फाइटको ६८ केजीमुनि तौल समूहमा उत्कृष्ट प्रदर्शन गरे ।

उनले फाइनलमा पाकिस्तानका महम्मद फहिमलाई ४१–३६ अंकले पराजित गरे । त्यसअघि उनले सेमिफाइनलमा भारतका पृथ्वीराज चौहानलाई पराजित गरेका थिए । यसअघि मंगलबार काजल श्रेष्ठले पनि तेक्वान्दोबाट स्वर्ण दिलाएकी थिइन् ।

मंगलबार नेपालले तेक्वान्दोबाट २, कराँतेबाट २, उसुबाट २, एथ्लेटिक्सबाट १ र ट्रायथलनबाट १ स्वर्ण गरी ८ स्वर्ण जितेको छ । योसँगै नेपालको स्वर्ण संख्या २३ पुगेको छ ।