दोहोरो भिडन्तमा परि प्रहरी अधिकृतसहित ६ जनाको ज्यान गयो
काठमाडौं – अमेरिकाको न्युजर्सी शहर दोहोर भिडन्त भएको छ । भिडन्तमा परि एक प्रहरी अधिकृतसहित ६ जनाको ज्यान गएको छ । शहरका मेयर स्टिभन फुलपका अनुसार दोहोरो गोली चल्दा अन्य दुई प्रहरी घाइतेसमेत भएका छन् ।
जर्सी शरहको ग्रीनभिल इलाकामा प्रहरी र हतियारधारीबीच करिब एक घण्टासम्म गोली हानाहान भएको थियो । गोली चलाउने व्यक्ति को हो र किन गोली चलायो भन्ने नखुलेको बीबीसीले जनाएको छ । तर अधिकारीहरुले भने यो आतंकवादी आक्रमण हुनसक्ने बताएका छन् ।
मारिने प्रहरीमा ३९ वर्षीय जोसेफ सिल्स छन् । उनी १३ वर्षदेखि जर्सी शहरको प्रहरी सेवामा थिए । जर्सी प्रहरीका प्रमुख माइक केलीले भनेका छन् जोसेफले सडकलाई हतियार मुक्त बनाउन अहम् भूमिका खेलेका थिए ।
केलीका अनुसार स्थानीय समयअनुसार मध्याह्न १२ बजेतिर एक्कासी गोली चल्न थाल्यो । त्यसपछि जोसेफले ती बन्दुकधारीलाई पक्रने कोसिस गरेका थिए, त्यहीबेला उनी मारिए ।