प्रेरक प्रसंग : जसले राजाको सम्पत्तिलाई लात हाने

बुधबार, २५ मंसिर २०७६

काठमाडौं – एक सम्राट विश्वविजेता बने । उनले उनको बाल्यकालका एक साथी फकीर बनेको कथा सुने । उनले सुने–‘ती व्यक्ति दिगम्बर फकीर बनेका छन् र नाङ्गै बस्न थालेका छन् ।’

ती फकीरको ख्याति सम्राटसम्म आउन थाल्यो । सम्राटले उनलाई निमन्त्रणा पठाए – ‘तपाइँ कुनै पनि बेला राजधानी आउनुहोस् । तपाइँ मेरो मित्र हुनुहुन्छ । बाल्यकालमा हामी सँगै साथी थियौं । सँगै स्कुल पढेका थियौं र एउटै मार्गमा हिँडेका थियौं । तपाइँ आउनुभयो भने मप्रति ठूलो कृपा हुनेछ ।

फकीर आए । उनी पैदल नै आएका थिए र नाङ्गै थिए । राजधानी आउनका लागि उनलाई महिनौं लाग्यो । फकीर राजधानीको छेउमा आइपुग्दा केही यात्री राजधानीबाट बाहिर जाँदै थिए । उनीहरुले फकीरसँग भने–‘ तपाइँलाई थाहा छ ? सम्राट तपाइँसामु आफ्नो घमण्ड देखाउन चाहन्छन् त्यसैले तपाइँलाई बोलाएका हुन् ।’

फकीरले सोधे–‘कस्तो घमण्ड ?’ उनीहरुले भने–‘उनले पूरै राजधानी सजाउन लगाएका छन् । बाटोमा मखमली कपडा ओछ्याउन लगाएका छन् । पुरै नगरमा दीयोे बालिएको छ । सुगन्ध छरिएको छ । बाटे वरिपरि फूलले सजाइएको छ । पूरै नगर सङ्गीतले गुञ्जयमान भइरहेको छ । उनी तपाइँलाई तपाइँको हैसियत देखाउन चाहनछन् ।

भन्न चाहन्छन्– ‘तँ के होस् र ? एक नाङ्गो फकीर । हेर म को हुँ ।’ फकीरले प्रतिक्रिया दिए– ‘मैले पनि देखाइदिनेछु ।’ यात्री गए । साँझ फकीर राजधानी आइपुगे । उनको स्वागतका लागि राजा द्वारसम्मै गए । उनी विशिष्ट मानिसहरुलाई सँगै लिएर आएका थिए ।

उनले राजधानीलाई निकै सजाएका त थिए तर यस सजावटलाई गलत अर्थमा लिइनेछ भनेर सोचेका पनि थिएनन् । र उनले सोचेका थिए–‘फकीर आउनेछन् मेरो बाल्यकालका साथी । उनको जतिसक्दो राम्रोसँग स्वागत गर्नेछु ।’

सायद उनीभित्र गहिराइमा यस्तो वासना पनि लुकेको थियो होला ‘उनलाई देखाउनेछु ’। आफ्नो गहिराईको बारेमा आफैलाई थाहा हुँदैन । फकीर राजाको भेट भयो । फकीर नाङ्गो त थिए नै उनको घुडासम्म फोहोर पनि थियो । हिलो लागेको थियो ।

राजा केही अचम्भित भए । वर्षा भएको थिएन । वर्षाका लागि मानिसहरु प्रतिक्षा गरिरहेका थिए । बाटो सुख्खा थियो । रुखहरु सुक्दै गइरहेका थिए । किसान आत्तिइरहेका थिए । वर्षा हुने समय बित्दै गइरहेको थियो । यस्तो समयमा पनि फकीरलाई हिलो कहाँबाट लाग्यो, जुन घुडासम्म लागेको छ भन्ने राजालाई लाग्यो ।

सम्राटले ढोकामै यसबारेमा सोध्न चाहेनन् । उचित सम्झेनन् । फकीरलाई लिएर उनी महलसम्म आए । फकीर ती बहुमूल्य भुँइमा जुन लाखौं रुपियाँका थिए । हिलो खसाउँदै हिडे । राजमहलमा प्रवेश भएपछि दुई जना मात्रै बाँकी रहे ।

सम्राटले सोधे–‘बाटोमा तपाइँलाई अवश्य पनि कुनै कष्ट भयो होला । तपाइँको खुट्टामा यस्तो हिलो कहाँबाट लाग्यो ? तपाइँले कहाँ दुःख झेल्नुप¥यो ?’ फकीरले भने–‘दुःख ? कुनै पनि दुःख भएन । तपाइँ यदि आफ्नो सम्पत्ति देखाउन चाहनुहुन्छ भने म पनि आफ्नो फकीरपन देखाउन चाहन्थें । म फकीर हुँ । म तपाइँको बहुमूल्य सम्पत्तिलाई लात हान्छु ।’