अनुष्का बनिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्डकी विजेता
काठमाडौं– मिस नेपाल अनुष्का श्रेष्ठले ६९औं संस्करणको मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जितेकी छिन् ।
मिस वर्ल्ड २०१९ का लागि प्रतिस्पर्धामा रहेकी अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन् । उनी मल्टिमिडिया अवार्ड जितेसँगै टप ३० मा प्रवेश गर्न सफल भएकी छिन् ।
यसअघि उनले ‘हेड टु हेड’ च्यालेन्जसमेत जितेकी थिइन् । उक्त अवार्ड जितेर १ सय १२ देशका प्रतिस्पर्धी सुन्दरीमाझ उनी टप ४० मा परेकी थिइन् । नेपालले भोटिङमा सबैभन्दा बढी मत पाएमा सीधै टप २० मा प्रवेश गर्नेछ । त्यसको लागि बढीभन्दा बढी भोट गर्नुपर्ने हुन्छ ।
१४ डिसेम्बरमा सम्पन्न हुने फाइनलमा उत्कृष्ट १० सुन्दरीबीच प्रतिस्पर्धा हुनेछ । उनीहरूमध्ये टप ५ जनालाई मात्र मिस वल्र्डको उपाधिका लागि सहभागी गराइने मिस वर्ल्डको नियम छ ।